काठमाडौं
न्यायसम्पादन प्रक्रियालाई लिएर न्यायपरिषदमा दर्ता भएका उजुरीका आधारमा १७ जना न्यायाधीश माथि छानबिन सुरु भएको छ । परिषद्ले ती न्यायाधीश माथि छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रलाई उजुरी जिम्मा लगाएको छ । परिषद स्रोतका अनुसार मिश्र समितिले उजुरी अनुरूप प्रारम्भिक छानबिन सुरु गरेको छ ।
सुरुमा परिषद सदस्य रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकलाई उजुरी छानबिनको जिम्मा लगाइएको थियो । उनीहरूको अध्ययनपछि छानबिनलाई अन्तिम रूप दिन १७ न्यायाधीशको उजुरीको फाइल न्यायाधीश मिश्रलाई जिम्मा लगाइएको हो । छानबिन गरिएका न्यायाधीशविरुद्ध परिषदमा फरक फरक उजुरी थिए । न्यायाधीशको आचरण, आचारसंहिता उल्लंघन, कानुनको गलत व्याख्या, मुद्दामा अनुचित प्रभाव, इमानदारीपूर्वक कर्तव्य पालना नगरेको, सर्वोच्चका नजिरको गलत व्याख्या जस्ता प्रश्न उब्जाउँदै उजुरीमा कारबाही माग गरिएको थियो । तर कुनै कारबाही हुने वा नहुने विषयको टुंगो भने छानबिन प्रतिवेदन पछि मात्र लाग्नेछ ।
‘कतिपयमा वृत्ति विकास रोक्ने मनसायले आन्तरिक रूपबाटै बेनामे उजुरी परेको देखिन्छ, छानबिन परिपक्व भइ नसकेको अवस्थामा प्रतिवेदन आएपछि मात्र के हुने भनेर थाहा होला,’ परिषद स्रोतले भन्यो, ‘अहिले सबै काँचो अवस्थामा छ ।’ स्रोतका अनुसार पछिल्लो छानबिन न्यायपरिषद ऐन २०७३ को दफा १८ बमोजिम सुरु भएको हो । उक्त दफामा न्यायपरिषदमा प्राप्त उजुरी वा अनुगमन वा निरीक्षण प्रतिवेदनको आधारमा वा न्यायपरिषद आफैँले उच्च अदालत वा जिल्ला अदालतको कुनै न्यायाधीश विरुद्ध छानबिन गर्न आवश्यक देखेमा परिषद्ले कुनै सदस्य वा सर्वोच्च अदालतको कुनै न्यायाधीशलाई त्यसको प्रारम्भिक छानबिन गर्नका लागि तोक्न सक्ने व्यवस्था छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया