काठमाडौं
अहिले एमाले र माओवादीको सत्ता समिकरण छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् । दुवै पार्टीमा मन्त्रीहरुको लामै लर्को छ । त्यही विवादले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । एमालेसँगको सहमति अनुसार सात वटा मन्त्रालय माओवादीले आफ्नो भागमा पारेको छ । तर माओवादीमा चुनाव जितेका सिनियर नेता सबै मन्त्रीका दाबेदार छन् ।
माओवादीमा सबैको प्रिय पद गृहमन्त्री बन्दा त्यसमा को जाने भन्ने विवाद कायमै छ । यही विवादले मन्त्रिपरिषद विस्तारमा समेत ढिलाइ भइरहेको छ । वरिष्ठ नेता रामबहादुर थापा र अर्का युवा नेता वर्षमान पुनले गृहमा दावी गरिरहेका छन् । थापा वैद्य माओवादीबाट मुल पार्टीमा फर्केका नेता हुन् । माओवादीमा मन्त्री दावी गर्नेहरु कुनै न कुनै समयमा मन्त्री भएकैहरु धेरै छन् भने पहिलो पटक सांसद भएका र मन्त्री नभएकाहरु थोरै भएकाले दावी गर्ने नयाँ अनुहार पनि कमै छ ।
सरकारको नेतृत्व गर्न लागेका रामबहादुर थापा यस अघि रक्षामन्त्री भइसकेका छन् । उनले उपप्रधान तथा गृहमन्त्रीको दावि गरेका छन् । थापा ०६४ को संविधानसभा निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए । उनकै जोडबलमा दाहाल सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङगद कटवाललाई कारबाही गरेको थियो । जसका कारण माओवादीको सरकार ढल्यो । उनी राष्ट्रियसभाको अध्यक्ष हुने उद्देश्यका साथ राष्ट्रियसभामा निर्वाचित भएका थिए तर अहिले सरकारमा जान हतारिएका छन् ।
कृष्णबहादुर महराले सरकारमा नजाने घोषणा गरेका छन्, तर माओवादीमा उनी सबैभन्दा धेरै पटक मन्त्री भईसकेका नेता हुन् । उनी सांसद समेत पाँचपटक भईसकेका छन् । अन्तरिम सरकार, ०६५ को दाहाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री, ०६७ को झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधान सहित सूचना तथा सञ्चारमन्त्री, खनाल नेतृत्वकै पुनर्गठित सरकारमा उपप्रधान तथा गृहमन्त्री, ०७३ को दाहाल नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्री र २०७४ को देउवा नेतृत्वको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । उनी २०४८, २०६३ को अन्तरिम संसद, २०६४,२०७० र २०७४ मा लगातार सांसद छन् ।
टोपबहादुर रायमाझीको मन्त्रीमा खुलेर दावी नरहेपनि अध्यक्ष दाहाललाई भेटेर सरकारमा जाने ईच्छा देखाएका छन्। उनी एक पटक उपप्रधानमन्त्री र चारपटक मन्त्री भएर शक्तिशाली मानिएका मन्त्रालय सम्हालि सकेका छन् । जनार्दन शर्मा पनि मन्त्रीकै आकांक्षीमा छन् । यसअघि लगातार दुईवटा सरकारको मन्त्री रहेका शर्माले पुनः गृहमन्त्रीको दावि गरेका छन् । उनी तीनपटक मन्त्री, चारपटक सांसद, एकपटक सचेतक र एकपटक लेखा समितिको सभापति बनिसकेका छन् ।
देव गुरुङ सुरुमा मन्त्रीको दावि गरे पनि उनले सभामुखतिर आँखा लगाएका छन् । उनी तीन पटक सांसद, दुई पटक मन्त्री एकपटक दलको उपनेता र एकपटक प्रमुख सचेतक बनिसकेका छन् । पम्फा भुषाल मन्त्रीको दाबेदार हुन् । उनी तीन पटक मन्त्री र तीन पटक सांसद बनिसकेकी छिन्। गिरिराजमणी पोखरेल अघिल्लो दुई सरकारमा लगातार मन्त्री भए र अहिले पाँचौ पटक मन्त्री बन्न दौडधुप गरिरहेका छन्। उनी चार पटक सांसद र चार पटक मन्त्री बनिसकेका छन्। शक्ति बहादुर बस्नेत दुईपटक मन्त्री र दुईपटक सांसद बनिसकेका छन् भने तीन पटक सांसद र एकपटक मन्त्री बनिसकेका मातृका यादव पनि मन्त्रीको मुख्य दाबेदार छन् ।
यस्तै मधेसबाट मन्त्रीको दावी गरिरहेका प्रभु साह तीनपटक सांसद, तीनपटक मन्त्री र दुई पटक संसदीय समितिको सभापति बनिसकेका छन् । अग्नीप्रसाद सापकोटा मन्त्रीको दावेदार छन् । उनी तीन पटक सांसद, दुई पटक मन्त्री बनिसकेका छन् । हरिबोल गजुरेल मन्त्रीका अर्का दाबेदार हुन् । उनी दुई पटक सांसद र दुई पटक मन्त्री बनिसकेका छन् । चक्रपाणी खनाल पहिलोपटक संसद बनेका नेता हुन् । उनी अहिले सम्म मन्त्री बनेका छैनन् । देवेन्द्र पौडेल पनि खनाल जस्तै पहिलोपटक सांसद बनेका नेता हुन् र उनी पनि अहिले सम्म मन्त्री बनेका छैनन् । जयपुरी घर्तीमगर तेस्रोपटक सांसद बनेकी हुन् । यसअघि अन्तरिम व्यवस्थापिका सांसद, २०६४ मा रोल्पाबाट सभासद बनिसकेकी घर्ती समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।
नागरिकबाट





























प्रतिक्रिया