काठमाडौं
प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमलाई पनि समेटेर सरकार विस्तार गर्ने गृहकार्य थालेका छन् । सरकारमा सहभागी हुन फोरम सकारात्मक देखिएपछि दुई नेता दुईतिहाइ बहुमतको सरकारको गृहकार्यमा जुटेका हुन् ।
संविधान संशोधनका विषय तय गर्न कार्यदल गठन भए सरकारमा आउन फोरम सकारात्मक छ । ‘फोरमलाई पनि सरकारमा ल्याउने कसरत भइरहेको छ, ऊ पनि सकारात्मक देखिएको छ । त्यसैले मधेसका मुद्दा सम्बोधनका लागि फोरम समेत सहभागी हुने गरी सरकार विस्तार गर्ने गृहकार्य भइरहेको छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने ।
एमाले र संघीय समाजवादी फोरमबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा बुधबार छलफल भएको छ । छलफलमा एमालेबाट सुवास नेम्वाङ र प्रदीप ज्ञवाली तथा फोरमबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत सहभागी थिए । फोरमले विगत देखि उठाउँदै आएको संविधान संशोधनका मुद्दामा एमालेको धारणा मागेको थियो । स्रोतका अनुसार दुवै पक्ष कार्यदल बनाएर संशोधनका विषय पहिचान गर्न सकारात्मक देखिएका छन् ।
फोरम सकारात्मक भएपछि मन्त्रिपरिषद विस्तार पनि रोकिएको थियो । फोरमलाई एउटा महत्वपूर्ण सहित २,३ वटा मन्त्रालय छुट्याउनु पर्ने भएकाले विस्तारमा ढिलाइ भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । फोरमसँगको वार्तापछि नेम्बाङले साँझ प्रधानमन्त्री ओलीलाई ‘ब्रिफिङ’ गरेका थिए ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया