काठमाडौं
शेर बहादुर देउवा सरकारले जाँदाजाँदै राष्ट्रियसभा तीन सदस्य मनोनयनका लागि गरेको सिफारिस नयाँ सरकारले फिर्ता लिने भएको छ । देउवाले एकलौटी रुपमा गरेको सिफारिस राष्ट्रपति कार्यालयमा थन्किएको छ । संविधान अनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ । यसअघि प्रदेशगत निर्वाचनबाट ५६ जना निर्वाचित भएर आइसकेका छन् । अब तीन जनाको मनोनयन नयाँ सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने शीतलनिवास स्रोतले जनाएको छ ।
देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेको थियो । तर राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नु पर्ने भन्दै थन्क्याएको थियो । यता नयाँ सरकारले ललितपुर १ का एमाले सांसद नवराज सिलवालको मुद्दा पनि फिर्ता लिने संकेत देखाएको छ । सरकारी कागजात कीर्तेको मुद्दाबाट उनले तत्काललाई राहत पाउने देखिएको छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सिलवालको मुद्दालाई किनारा लगाउने प्रयास भएको बुझिएको छ ।
सिलवाललाई पक्राउ गर्न पत्र काट्ने महानगरीय प्रहरी परिसरले नयाँ सरकार गठन सँगै सिलवाल प्रकरणमा नरम शैली अपनाउने छनक दिएको छ । परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेको भन्दै सिलवालका सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन् । काठमाडौं प्रहरी परिसरले सिलवाललाई पक्राउ गर्न पूर्जी नै काटेको थियो । तर उनी पक्राउ परेनन् । हाल उनी कहाँ छन् भन्ने कसैलाई पनि जानकारी छैन । यद्यपी उनलाई देउवा सरकारले फरार अभियुक्तको सूचिमा राखेको थियो ।





























प्रतिक्रिया