भैरहवा
०७० साल माघमा साविकको बुटवल नगरपालिका–१३ का एकबहादुर रानाले नेपाली नागरिकता त्यागका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा निवदेन दर्ता गराए। कारण थियो– बेलायती नागरिकता प्राप्त गर्नु । हङकङमा बस्दै आएका उनलाई ‘विदेश मोह’ ले छोएपछि उनले आफ्नो जन्मथलो छाडेर बेलायत रोजे । ०५३ सालमा नागरिकता लिएका उनले ०७० साल अर्थात् नागरिकता प्राप्त गरेको १७ वर्षमा नेपाली नागरिकता त्यागे । यस्तै भैरहवा (सिद्धार्थनगर नगरपालिका ३) की गायत्री थापाले पनि ०६८ असोजमा नागरिकता त्यागका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा निवदेन दिइन्।

बेलायती नागरिकता लिने कारण देखाउँदै उनले आफ्नो वंशजको नेपाली नागरिकता त्यागिन् । ०५५ सालमा नागरिकता बनाएकी उनले १३ वर्षमा नेपाली नागरिकता त्यागिन् । विदेश मोहका कारण जिल्लामा नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दो छ । रूपन्देहीबाट नागरिकता लिएका मध्ये हाल सम्म दुई सय १९ जनाले नागरिकता त्यागेको जिल्ला प्रशासनको अभिलेखमा दर्ज भएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीका नागरिकता फाँटका नासु यज्ञराज पोखरेलले जानकारी दिए।

उनले नगरिकता त्याग्नेले अन्य देशको नागरिकता लिइसकेको, लिने प्रक्रियामा रहेको, विदेशी नागरिकसँग विवाह गरी उतै बसोबास गरेको लगायत कारण देखाउँदै आएको बताए । नागरिकता त्याग्नेमा अधिकांश युवा छन् । जसले वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने र सोही देशको नागरिकता प्राप्त गरी, गर्नका लागि आफ्नो जन्मथलो छाडेर विदेशी नागरिकता रोज्ने गरेका छन् ।
अन्नपूर्णबाट