मोरङ
१ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि साँढे सात करोड विनियोजन गरिएको छ । प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भार सहित अन्य कामका लागि साँढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताए । प्रदेश नं १ को अस्थायी राजधानीको संरचना मर्मतका लागि राज्यले साँढे सात करोड बजेट विनियोजन गरेको हो । कार्यालय प्रमुख सिंहले दिएको जानकारी अनुसार विनियोजित बजेट मध्येबाट पाँच करोड कार्यालय मर्मत–सम्भार शीर्षकमा आएको छ । मन्त्रालयको फर्निचरका लागि एक करोड ५० लाख, तथा कम्पाउण्ड, पार्किङ लगायत बाहिरी संरचना मर्मतका लागि एक करोड बजेट आएको छ । मोरङका प्रजिअ रामप्रसाद आचार्यका अनुसार आएको बजेटबाट कार्यालय मर्मतको काम शुरु गरिएको हो ।
आचार्यका अनुसार मन्त्रालय रहने भवनमा रहेका सरकारी अड्डाको व्यवस्थापनको काम पनि शुरु गरिएको छ । मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिव रहने क्षेत्रीय कृषि कार्यालयलाई भुइँ तल्लामा सारिने बताइएको छ । पहिलो र दोस्रो तल्ला प्रदेश सचिव र मुख्यमन्त्रीका लागि छुट्याइएको हो । पूर्वान्चल क्षेत्रीय पशुसेवा कार्यालय जिल्लामा सार्ने तयारी गरिएको आचार्यको भनार्इ छ । उनका अनुसार प्रदेश प्रमुखको कार्यालय सार्ने गरी क्षेत्रीय वन निर्देशनालयको भवन खाली गरिएको हो । प्रदेशको अस्थायी मुकाम घोषणा पछि क्षेत्रीय पशुसेवा कार्यालयमा प्रदेश प्रमुखको कार्यालय राखिएको थियो । तर सो भवन सानो भएपछि प्रदेश प्रमुखको कार्यालयलाई क्षेत्रीय वन निर्देशनालयमा सार्न लागिएको छ । प्रदेश प्रमुखका लागि क्षेत्रीय वन कार्यालयको दोस्रो र तेस्रो तला खाली गरिएको छ । पूर्व क्षेत्रीय वनको कार्यालय भुइँतल्लामा राखिने बताइएको छ ।
त्यस्तै मुख्यमन्त्री रहने क्षेत्रीय कृषि निर्देशनालयको कामकाज पनि भुइँतल्लाबाट शुरु गरिएको छ । प्रजिअ आचार्यका अनुसार प्रदेश सभा बैठक बस्ने जिल्ला समन्वय समितिको कार्यालय तेस्रो तल्लामा सारिनेछ । प्रदेश सभाको पहिलो बैठक माघ २२ गते बस्नेछ ।
रासस





























प्रतिक्रिया