सडक निर्माणले स्थानीयवासीमा खुशियाली

सडक निर्माणले स्थानीयवासीमा खुशियाली

केन्द्रबिन्दु
0
Shares

संखुवासभा

संखुवासभाको व्यापारिक बजार पोखरी हुँदै नुनढाकी जाने सडकको कार्य तीव्रगतिमा अगाडि बढेसँगै स्थानीयवासीमा खुशियाली छाएको छ । 

उन्नति संस्थाको रु १० करोड ७९ लाख ४२ हजार ४५९ को लागतमा २१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएका थोदुङ् कुन्सालिङ जेभी कम्पनीले सडक निर्माण कार्यमा तीव्रता दिएको हो । ठेकेदार सीताराम तामाङका अनुसार यो सडक निर्माण गर्दा आफूहरुलाई स्थानीयवासीले समेत साथ दिइरहेका छन् । निर्माण कार्य शुरु गरेको छ महिना नबित्दै ३० प्रतिशतभन्दा बढी काम गर्न आफूहरु सफल भएको उनको दाबी छ । 

चैनपुर नगरपालिकाले सडक निर्माणको कार्यलाई कडाइका साथ अनुगमन गरिरहेकाले गुणस्तरीयता कायम गर्न आफूहरुले समेत निगरानी गरिरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताउनभयो । उक्त सडक निर्माण हुँदा खाँदबारी, चैनपुर, पाँचखपनलगायतका स्थानीयवासीले संखुवासभाको चैनपुर नगरपालिका–१ मा नुनढाकीस्थित प्रसिद्ध तीर्थस्थल तातोपानीलगायत तेह्रथुम, ताप्लेजुङ र चैनपुर नगरपालिका–१ नुनढाकी गुफापोखरीे संगमस्थलमा नेपालमा पाइने ३२ प्रजातिको गुराँसमध्ये २८ प्रजातिको गुराँस फूलको रमणीयस्थल तिनजुरे, मिल्के, जलजले क्षेत्र र ताप्लेजुङसम्मको सहज यात्रा गर्न सक्ने बताइएको छ । 

उक्त सडक सञ्चालनबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने जिल्ला समन्वय समिति, संखुवासभाका प्रमुख सुमन शाक्यले बताउनुभयो । 

अहिले इस्टिमेटबमोजिम ग्याबियन वाल, नाली निर्माण कार्यका साथसाथै सडक चौडा बनाइ सहजरुपबाट सवारीसाधन आवतजावतमा समेत अवरोध नपुग्ने गरी द्रुतगतिमा निर्माण कार्य भइरहेको प्रमुख खत्रीले बताउनुभयो । 

सडक निर्माण कार्यलाई तीव्रता दिन साँझको समयपछि मात्र लोड गाडी आवतजावत गर्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तकुमार राणाले बताउनुभयो । रासस

Logo