केन्द्रबिन्दु सम्बाददाता
काठमाडौँ, २९ पुस । अनसन बसेको छैठौ दिन डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग शुक्रबार राति भएको पाँचबुँदे सहमतिपछि केसीले आफ्नो अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालको अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले केसीलाई जुस पिलाई अनशन तोडाएका हुन् ।
चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने लगायत पाँचबुँदे सहमति भएका थिए । सरकारी वार्ता टोलीमा स्वास्थ्यमन्त्री दीपक बोहरासँगै स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल सहभागी थिए भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल र डा कालु सिंहको सहभागिता थियो ।
डा केसीले न्यायको किनबेच भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनसन थालेका थिए । फैसलाविपरीत अभिव्यक्ति दिएर अदालतको अवलेहलना गरेको भन्दै सर्वोच्चको आदेशमा उनलाई अनशन थालेकै राति पक्राउ गरेर भोलिपल्ट अदालत उपस्थित गराइएको थियो। सर्वोच्चको इजलासले प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र तथा डा शर्माको पुनर्बहालीको फैसला झिकाउने आदेश गरेको थियो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको प्रमुख मागसहित अनसन बसेपनि सहमति पत्रमा यस बारे केहि उल्लेख छैन । यो माग पुरा नहुँदै उनले अनसन तोड्नुलाई गम्भीर रुपले हेरिएको छ ।





























प्रतिक्रिया