‘अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनु पर्छ’ : प्रधानमन्‍त्री

‘अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनु पर्छ’ : प्रधानमन्‍त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनु पर्ने बताएका छन् । शनिबार एपीवान टेलिभिजनमा विशेष कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले पार्टी र सरकारमा नेतृत्वको विवाद भइराखेका बेला यो अभिव्यक्ति दिएका हुन् । उनले पूर्वप्रधानमन्त्री भइसकेका र पार्टी अध्यक्ष बनिसकेका नेताले फेरि नेतृत्वका लागि लडाईं गरेको भन्दै यस्तो बताएका हुन्।

ओलीले नयाँ पुस्ता भनेर ६० वर्ष आसपासका नेतालाई ७० वर्ष आसपासका नेताले नेतृत्व सुम्पिनु पर्नेमा जोड दिए।

‘३२–३३ वर्ष अध्यक्ष भइसकेका साथीहरुको फेरि पनि धित नमरेको देख्दा, रहर फर्किफर्की पलाएको देख्दा, प्रधानमन्त्री भइसकेका साथीहरुलाई फेरिफेरि आफैंलाई चाहिएको देख्दा अचम्म लाग्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम हामी नयाँ पुस्तालाई जिम्मेवारी दिन सक्छौँ । नयाँ भनेको किशोर होइन। नयाँ पुस्ता भनेको ६० वर्ष हाराहारीको छ । हामी किन तिनलाई नेतृत्व दिन तयार हुँदैनौँ ?’

प्रधानमन्त्री ओलीले सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व जिम्मा लगाउनु पर्ने बताएका छन् । उनले अहिले नेतृत्वका लागि लडाईं आवश्यक नै नभएकोमा जोड दिए ।

‘हामी किन आफैंलाई मात्रै, मलाई मात्रै चाहियो, मेरै मान पुगेन, मेरै भाउ पुगेन, मेरै भाग पुगेन भनेर किन लडाईं गर्छौँ ? एउटा सहमति गरौँ । नयाँ पुस्तालाई जिम्मा लगाऔँ’, ओलीले भने, ‘हामी ७० आसपासका छौँ। महाधिवेशन सम्ममा सबै ७० पुग्छौँ। हामीले नै सधैं ओगटिरहनु पर्ने किन ?’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री भइसकेका र महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका नेताले फर्कि फर्की नेतृत्वका लागि लडाईं लड्नु गलत भएको बताए। अन्नपूर्णबाट

Logo