काठमाडौं,१६, पुस
संसद्को आफ्नो भवन नहुँदा संसद बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ । सरकारले संघीय संसद्का लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ । यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद बैठक पनि त्यहीं बसेको थियो ।
संसद सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड भाडा बुझाउने सम्झौता भएको छ । सम्झौतामा बर्सेनि कति बढाउने उल्लेख छैन तर न्यूनतम १० प्रतिशत बढाउने सहमति भएको स्रोतले बतायो । २०६६ देखि यता प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा बढाउँदै आएको छ । प्रतिनिधिसभा पाँच वर्ष र राष्ट्रियसभा ६ वर्षको भएकाले सम्मेलन केन्द्र ६ वर्षका लागि भाडामा लिने सहमति भएको छ ।
सचिवालयले आगामी ६ वर्षको भाडा ९९ करोड ३० लाख रुपैयाँ तिर्नु पर्नेछ । सचिवालयले सम्मेलन केन्द्रलाई यसअघि ६८ करोड ४३ लाख ४९ हजार १ सय ७ रुपैयाँ भाडा बुझाइसकेको छ । दुवै रकम जोड्दा १ अर्ब ६७ करोड ७३ लाख ४९ हजार १ सय ७ रुपैयाँ हुन्छ । दुईवटा संविधानसभा र रूपान्तरित संसद बैठकका लागि नौ वर्ष अवधिमा भाडा बापत ६८ करोड ४३ लाख ४९ हजार १ सय ७ रुपैयाँ खर्च भएको छ । संघीय संसद्को बैठक भवन मर्मतका लागि ३ करोड ३३ लाख खर्च भएको छ । यस बाहेक भवन भित्र हुने अन्य खर्च संसद सचिवालयले गर्दै आएको छ ।
नागरिकबाट





























प्रतिक्रिया