सिन्धुपाल्चोक,१६, पुस
चीनले तातोपानी नाका पन्छाउँदै केरुङ रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ । सिन्धुपाल्चोकको उत्तरी सीमा तातोपानीमा स्थापित चीन जोड्ने यो साँढे पाँच दशक पुरानो नाका ०७२ को महाभूकम्पयता ठप्प थियो । यसअघि चीनले रसुवागढी केरुङ नाकालाई प्राथमिकता दिँदै तातोपानी नाका स्थायी रूपमा बन्द गर्ने प्रस्ताव नेपाल सरकार समक्ष राखेको थियो ।
केही दिन अघि खासामा भएको द्विपक्षीय सुरक्षा प्रमुखस्तरीय बैठकमा नेपालले तातोपानी नाका बन्द हुँदा आयात निर्यातमा परेको नोक्सानी बारे अवगत गराएपछि चिनियाँ पक्षले सीमा वारपारको सुरक्षा व्यवस्था बलियो भए नाका खुलाउन सकिने संकेत दिएको हो ।
चीनको सीमा सुरक्षा हेर्ने वरिष्ठ अधिकारी वाङ जिङले नेपाली पक्षसँग नाका खुलाउनु अघि ‘ज्वाइन्ट कमान्ड मेकानिज्म एग्रिमेन्ट’ गर्नुपर्ने प्रस्ताव गरे । वाङले प्रस्ताव गरेको उक्त एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाली पक्ष तयार भए सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेगरी संयुक्त सीमा सुरक्षाफौज गठन हुनेछ । तातोपानी बन्द हुनु अघि सम्म झन्डै २० अर्ब रुपैयाँ बराबरको आयात र पौने तीन अर्बको निर्यात जारी थियो । तातोपानी नजिकैको चिनियाँ भूभाग लार्चामा चीनले एक अर्ब २० करोड रुपैयाँ बराबर लागतमा सुक्खा बन्दरगाह बनाए पनि महाभूकम्प पछि त्यो खाली छ । नेपाल चीन दुवैतर्फका व्यापारीले नाका सुचारु गर्न दुवैतर्फ माग गरिसकेका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया