विराटनगर ।
भारतको विहार राज्यमा शनिबार हुने विधानसभा सदस्यको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मोरङसँग सीमा जोडिएको विहारको अररीया जिल्लामा पनि निर्वाचन हुँदैछ । सीमा क्षेत्रको सुरक्षा व्यवस्था शुक्रबार बिहानैबाट कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
निर्वाचनका बेला कुनै पनि घुसपैठ र अपराधिक घटना हुन नदिन ७२ घण्टासम्म दुई देशीय सीमा नाका पहिल्यैदेखि सिल गरिँदै आएको छ । चुनावी सुरक्षालाई ध्यानमा राख्दै बिहीबार साँझबाटै दुई देशबीच आवतजावत पूर्णरुपमा रोक लगाइएको थियो ।
नेपाल र भारतका सुरक्षा अधिकारीबीच यसअघि भएको बैठकमा निर्वाचनका बेला सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्दै सहयोग पुर्याउन भारतीय सुरक्षा अधिकारीले नेपाली पक्षलाई आग्रह गरेका थिए । निर्वाचनमा कुनै पनि अपराधिक घटना गरेर नेपालतर्फ अपराधी भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतीय पक्षले चुनावका बेला सधैं नेपाली सुरक्षाकर्मीको साथ लिने गरेको छ ।
त्यही आधारमा सीमा क्षेत्रमा ठूलो संख्यामा नेपाली सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै ठाउँमा रेकी गर्दै नेपाल र सशस्त्र प्रहरीले सीमामा आफ्नो उपस्थिति बढाएका छन् । सीमा क्षेत्रमा गस्ती बढाइएको छ ।
भारततर्फ पनि भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएर कडाई भइरहेको छ । ‘विहारमा विधानसभाको निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो,’ एसपी खड्काले भने, ‘दुई देशबीच आवतजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ । निर्वाचन नसकिएसम्म सवारी साधन पनि सञ्चालन हुने छैनन् ।’
नेपालमा पनि निर्वाचन भएका समयमा भारतीय सुरक्षाकर्मीले सीमामा कडाई गरेर सहयोग गर्ने गरेको उनको भनाइ छ ।
त्यही भएकाले निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रलाई नेपाली सुरक्षाकर्मीले उच्च निगरानीमा राखेको एसपी खड्काले बताए ।अन्नपूर्णबाट





























प्रतिक्रिया