काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
काष्ठमण्डप पुनर्निर्माणको काम आगामी वर्षको बैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढीरहेको उल्लेख गर्दै उनले तोकिएकै समयमा काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसहित काष्ठमण्डप पुनर्निर्माणको कार्यप्रगतिका विषयमा स्थलगत अनुगमनमा पुगेका मन्त्री ज्ञवालीले तोकिएको समय र तोकिएभन्दा कम लागतमा पुनर्निर्माणको काम सम्पन्न भइरहेकोमा खुसी पनि व्यक्त गरे ।

उनले काष्ठमण्डपको काम तिव्रताका साथ र मौलिकताका साथ भइरहेकोमा खुसी समेत व्यक्त गरे । स्थानीय समेतको सहभागिता हुँदा निर्धारित समयमा कुल अनुमानित लागत भन्दा एक तिहाइ कम रकममा सम्पदाको संरक्षण र पुनर्निर्माण भइरहेको उनले बताए । उनले सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा स्थानीयलाई सहभागि गराउने नीतिले पुनर्निर्माणको क्षेत्रमा नमुना स्थापित गरेको पनि बताए । स्थानीयको सहभागितामा हुने पुनर्निर्माणले सम्पदाहरुको मौलिक स्वरुप नविग्रिने उनले बताए ।
०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षको बैशाख १२ गते उद्घाटन गर्ने गरी अहिले काम जारी रहेको छ ।





























प्रतिक्रिया