नेपालमा २० हजार ४ सय ५६ किमि सडक कालोपत्र

नेपालमा २० हजार ४ सय ५६ किमि सडक कालोपत्र

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ५६ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ । आर्थिक सर्वेक्षणअनुसार फागुन २०८२ सम्म कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ । गत वर्षको सोही अवधिसम्म १९ हजार १ सय ६३ किमि सडक कालोपत्र गरिएको थियो ।

चालु आवको फागुनुसम्म ७ हजार ६ सय २ किलोमिटर ग्राभेल र ८ हजार ७ सय ४८ किमि कच्ची सडक निर्माण भएको छ। यसअनुसार सडकको लम्बाइ ३६ हजार ८ सय ६ किमि पुगेको छ । जब कि असार २०८२ सम्म २० हजार ४३ किमि कालोपत्र, ७ हजार ५ सय ११ किमि ग्राभेल र ८ हजार ६ सय ७२ किमि कच्ची सडकसहित सडकको लम्बाइ ३६ हजार २ सय २६ किमि थियो ।

फागुनसम्म ७६ किमि कच्ची सडक (नयाँ सडक) निर्माण भएको छ। यस अवधिमा ९१ किमि ग्राभेल, ६३.३ किमि सडकको आवधिक मर्मत र १ सय २ वटा पुलको निर्माण सकिएको छ ।

चालु आर्थिक वर्षको केही महिनायता कालोपत्र सडकको काम प्रभावित बनेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘पश्चिम एसियामा जारी द्वन्द्वका कारण बिटुमिनको मूल्य बढेको र बजारमा अभाव देखिएकाले कालोपत्रको काम हुन सकेको छैन। कहींकतै मात्र फाट्टफुट्ट भएको छ,’ उनले भने, ‘बिटुमिनको चर्को मूल्यकै कारण लक्ष्यअनुसारको कालोपत्रको काम नहुने जोखिम बढेको छ।’

नयाँ सहर आयोजना निर्माण सुरु भएको डेढ दशक बित्दा यो आयोजनाअन्तर्गत ३४ किलोमिटर मात्र कालोपत्र सडक निर्माण गरिएको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गले जोड्ने १० सहर छानेर यसको निर्माण सुरु गरिएको थियो। अहिले सहरको संख्या बढाएर ५४ वटा पुर्‍याइएको छ। उक्त आयोजनाले बजेट अभावमा गति लिन सकेको छैन।

बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार फागुन २०८२ सम्म नयाँ सहर आयोजनाअन्तर्गत ५१ किमि सडक ढलान गरिएको छ। १ सय ६८ किलोमिटर ढल र नाला निर्माण गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनी बस, ट्रक, माइक्रो बस, कार, मोटरसाइकलसहित २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन्। फागुन २०८२ सम्म यसरी दर्ता हुने सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ। दर्ता भएका सवारी/यातायातका साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

Logo