गणतन्त्र संस्थागत हुन सकेन, पुराना नेताले नेतृत्व हस्तान्तरण नगरेसम्म देश बन्दैन : भीम उपाध्याय

गणतन्त्र संस्थागत हुन सकेन, पुराना नेताले नेतृत्व हस्तान्तरण नगरेसम्म देश बन्दैन : भीम उपाध्याय

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । पूर्वसचिव तथा विश्लेषक भीम उपाध्यायले नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि यसको उपलब्धिबारे नागरिक तहमा असन्तोष बढ्दो रहेको बताएका छन् ।

संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट्र नीतिमा अपेक्षित परिणाम नआएको भन्दै नेपाल सरकारका पूर्वसचिव एवम् विश्लेषक भीम उपाध्यायले वर्तमान राजनीतिक व्यवस्थाप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् ।
उनले भने, ‘गणतन्त्र संस्थागत अझै भएको छैन । गणतन्त्र आइसकेपछि संविधान बन्यो । संविधानको खासै कार्यान्वयन भएन । दुई–तीनवटा चुनाव भयो तर त्यसले बनाउनुपर्ने कानुन बनाएन् ।’

गणतन्त्रपछि संविधान बने, चुनाव भए पनि राज्य सञ्चालनका आधारभूत कानुन र संस्थागत संरचना बलियो बन्न नसकेको उनको भनाइ छ । उनले नागरिकले अझै पनि “गणतन्त्र भएर के परिवर्तन भयो ?” भन्ने प्रश्न गरिरहेको उल्लेख गरे ।

उपाध्यायले राजतन्त्र हटेपछि राजनीतिक नेतृत्वले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । नेतृत्वले नयाँ पुस्तालाई अवसर नदिँदा राजनीति “बिउविहीन” बनेको उनको टिप्पणी छ ।

उनले नेपालको वर्तमान संकटमा राजनीतिक अस्थिरता र कमजोर परराष्ट्र नीतिलाई मुख्य कारणका रूपमा औंल्याएका छन् ।उनका अनुसार, सक्षम नेताले आफूभन्दा सक्षम नयाँ पुस्ता तयार पार्नुपर्छ । तर नेपालमा नेतृत्वले आफ्नोपछिको पुस्तालाई अवसर दिन नचाहेको आरोप उनले लगाए ।


उनले भने, ‘त्यही नेता सबैभन्दा असल सक्षम नेता हो, जसले सन्तति आफ्नै बच्चा मात्र होइन, त्यसपछिका युवाहरुलाई ग्रो गरेर आफूभन्दा सक्षम बनाउँछ । त्यही प्यारेन्ट्सहरु वा त्यही बाउआमा सबैभन्दा सफल बाउआमा हुन । जसको आफ्नो बालबच्चाहरु आफूभन्दा पनि तगडा भएर जान्छ । बाउआमा मात्र यस्तो नाता हो जसले आफ्नो बच्चा आफूभन्दा पनि योग्य बनोस् भन्ने चाहन्छ । अरु कुनैपनि सम्बन्ध श्रीमान–श्रीमती होइन अरु दाजुभाइ दिदीबहिनीको सम्बन्ध यो हुँदैन । नेताहरुको हेर्नुस् त कस्तो भयो ? कोही नआओस् म पछि त, बरु म मर्छु वा सकिन्छु । तर म बाँचुन्जेल म कसैलाई दिन्न । यसले गर्दा खाइदियो सबै ।’

नेपालको राजनीतिक इतिहासमा संविधान संशोधनभन्दा पनि आन्दोलनमार्फत व्यवस्था परिवर्तन भएको भन्दै उपाध्यायले अहिलेको संविधान पनि व्यवहारमा कमजोर देखिएको दाबी गरे ।
‘नेपालमा आजसम्म कुनै ठूला जनमाग संविधान संशोधनबाट पूरा भएका छैनन् । संविधान फालेर नयाँ संविधान ल्याइयो, नेपालमा सबै परिवर्तन आन्दोलनबाटै भए । अहिले पनि आन्दोलन नभएको यस्तो परिवर्तन हुँदैनथ्यो । सबै आन्दोलन हेर्नुहोला कुनैपनि संविधान संशोधन भएर जनताको माग पुरा भएको छैन । संविधान संशोधन नै भएको छैन, नेपालमा आजसम्म,’ उनले भने ।
उनले, संविधानले पूर्ण रूपमा काम गरेको भए राजनीतिक अस्थिरता र शक्ति संघर्ष यसरी दोहोरिने थिएन भन्दै प्रश्न गरे । ‘घरको एउटा पिलर भत्कियो भने पुरै घर जोखिममा पर्छ । अहिले त्यही अवस्था हो,’उनले भने ।

उपाध्यायले नेपालको यतिबेलाको सबैभन्दा गम्भीर कमजोरी परराष्ट्र नीति रहेको बताए । उनका अनुसार, विगतका शासकहरूले परराष्ट्र सन्तुलन राम्रोसँग सम्हालेका कारण लामो समय शासन टिकेको थियो ।
उनले भने, ‘वस्तुगत परिस्थिति एउटा हुन्छ । वस्तुगत कुरा र वैयक्तिक कुरा मिल्यो भने मात्रै सफलता प्राप्त हुन्छ । त्यसलाई टिकाउनको लागि गृहनीति र परराष्ट्र नीति ब्यालेन्स भएन भने टिक्दैन । एउटा मान्छे दुई खुट्टामा हुन्छ । दुई खुट्टैमा मान्छे हिँडे जस्तै हो । परराष्ट्र मामला अहिले गृह भन्दा पनि संगिन हुँदै गएका छ, जटिल बनेको छ । त्यसमा नेपाल चुकिसकेको छ । तर राणा शासन १०४ वर्ष टिक्नु, पञ्चायत ३० वर्ष टिक्नु त्यो परराष्ट्र सन्तुलनकै कारण थियो ।’

गणतन्त्र एक दिनमा आएको होइन
उपाध्यायले गणतन्त्र एक दिनमा आएको व्यवस्था नभएको उल्लेख गर्दै त्यसका लागि विभिन्न राजनीतिक शक्ति र नेताहरूले दशकौं संघर्ष गरेको स्मरण गरे । नेपाली कांग्रेसले पञ्चायती व्यवस्थाविरुद्ध लामो संघर्ष गरेको, वामपन्थी शक्तिहरूले जनवादी शासनको माग गर्दै आन्दोलन गरेको तथा जनआन्दोलन र सशस्त्र विद्रोहसम्मका प्रक्रियाले गणतन्त्रको आधार तयार गरेको उनले बताए ।
‘बहुदल माग्दै कांग्रेस ३० वर्ष लड्यो । वामपन्थीहरूले जनवादी शासनको माग गर्दै संघर्ष गरे । जनआन्दोलन भए । त्यसपछि गणतन्त्र आयो,’ उनले भने, ‘तर यति ठूलो संघर्षबाट आएको व्यवस्थालाई संस्थागत गर्ने काम कमजोर भयो ।’
उनका अनुसार, गणतन्त्रका प्रमुख अभियन्ता र नेताहरू अझै जीवित रहेपनि उनीहरूकै सत्ता मोह, नेतृत्व हस्तान्तरणमा अनिच्छा र भ्रष्टाचारका कारण व्यवस्था बदनाम भएको छ ।
‘गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबाहेक गणतन्त्रका अधिकांश प्रमुख नेतृत्व जीवितै छन्,’ उनले भने, ‘तर निरन्तर सत्ता लोलुपता, अपेक्षा बढाउने राजनीति र भ्रष्टाचारले यो व्यवस्थालाई कमजोर बनायो ।’

‘साइलेन्ट डिप्लोमेसी’को आवश्यकता
यसैगरी उनले वर्तमान राजनीतिक नेतृत्वमा विश्व राजनीति बुझ्ने गहिरो अध्ययन र रणनीतिक क्षमता कमजोर भएको टिप्पणी गरे । ‘आज चीन, अमेरिका, भारत, इजरायल शक्तिशाली छन् । यिनीहरूसँग सन्तुलन गर्नुपर्छ । तर हामी कहिले हमासतिर, कहिले अरू अतिवादी धारतिर झुक्ने संकेत दिन्छौं,’ उनले भने । उनले अहिलेको अवस्थामा नेपालले ‘साइलेन्ट डिप्लोमेसी’ अपनाउनुपर्ने आवश्यकता रहेको बताए ।
वर्तमान सरकारबारे बोल्दै उपाध्यायले अहिलेसम्म निर्णायक मूल्यांकन गर्न हतार गर्न नहुने बताए । उनले सरकारको शैलीलाई ‘परम्परागत राजनीतिक ढाँचाभन्दा फरक’ भनेर व्याख्या गरे । ‘अझै ५० दिन पनि भएको छैन । तर केही संकेतहरू आएका छन्, यो केवल सरकार बदल्न आएको होइन, प्रणाली बदल्न आएको सरकार हो,’ उनले भने ।
उनले जनताले दिएको दुईतिहाइ समर्थनलाई ‘रूपान्तरणको म्यान्डेट’ का रूपमा व्याख्या गरे । यदि फेरि पुरानै शैलीमा फर्कियो भने जनताले म्यान्डेट फिर्ता लिन पनि सक्ने उनले चेतावनी दिए ।

प्रभावकारी प्रतिपक्षको अभाव
उपाध्यायले अहिले नेपालमा प्रभावकारी प्रतिपक्षको अभाव रहेको बताए । लोकतन्त्रमा सशक्त प्रतिपक्ष आवश्यक रहेको उनी बताउँछन् । उनले भने, ‘प्रतिपक्ष नभए लोकतन्त्र कमजोर हुन्छ । तर केवल विरोध मात्र गर्ने समूह भयो भने लोकतन्त्रको आत्मा नै मर्छ,’ उनले टिप्पणी गर्दै भने ।
संवादको अन्तिम भागमा उपाध्यायले राज्यको कानुनी अभ्यास, पक्राउ शैली र नागरिक अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गरे । उनले अनुसन्धान पूरा नगरी नागरिक पक्राउ गर्ने प्रवृत्तिको विरोध गर्दै भने, ‘पहिले प्रमाण जुटाएर मात्र पक्राउ गर्नुपर्छ। मान्छेलाई हतारमा हिरासतमा राख्ने काम गलत हो ।’
उनका अनुसार, अदालत, प्रहरी र प्रशासनप्रतिको जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ । ‘आज जनताले कसैलाई श्रद्धेय मान्दैनन्,’ उनले भने ।

राजनीतिमा युवा पुस्ताको आवश्यक्ता
उपाध्यायले नेपालको राजनीति पुरानो पुस्ताले नियन्त्रण गरिरहनु नै सबैभन्दा ठूलो समस्या भएको बताए । ‘युवालाई छोड्नुपर्छ । युवालाई छोड्नासाथ यो भित्रका कमीकमजोरी उसले आफ्नो भविष्य जसरी राम्रो लाग्छ हिजो इतिहासमा एउटा कुरा गर्यो भनेर त्यही लकिर समात्दै हिँड्नुपर्छ भन्ने छैन । युवाले सोच्ला नि यो व्यवस्थामा सुधारेर हुन्छ कि फालेर हुन्छ कि त्यो युवालाई छोडौं। अरु बाहिर बसेर हामी गाइड गरौं, सल्लाहकार बनौं, एम्पायर बनौं, आफैं हिरो बन्न नजाऔं, डाइरेक्टर बन्न नजाऔं । जो ३० वर्षको छ, उसले आगामी ४० वर्षको नेपाल सोच्न सक्छ । तर जीवनको अन्तिम चरणमा पुगेका नेताहरूले देशमाथि नियन्त्रण कायम राख्न खोज्दा समस्या बढेको हो,’ उनले भने ।
अहिलेको संसद्मा प्रभावकारी प्रतिपक्षको अभाव रहेको पनि उनले औंल्याएका छन् । लोकतन्त्रमा प्रतिपक्ष नहुँदा व्यवस्थाको आत्मा नै मर्ने भन्दै उनले सरकारले गरेका गलत कामको खबरदारी गर्न सशक्त प्रतिपक्षको आवश्यकता रहेको बताए ।

Logo