काठमाडौँ। सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने तयारी गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरूकाे निशुल्क उपचारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेकाे हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले निःशुल्क उपचारका सम्बन्धमा सर्वाेच्च अदालतको निर्णय प्राप्त गरेपछि फैसलाअनुसार निर्णय मिलाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताएका हुन् ।
शुक्रबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले भने, ‘अदालतबाट हामीले निर्णय प्राप्त गरिसकेका छैनौँ । त्यो पत्र प्राप्त गरिसकेपछि फैसलाअनुसार निर्णय मिलाउनेगरी मन्त्रिपरिषदमा प्रस्ताव लैजानुपर्ने हुन्छ ।’
यसअघि सर्वाेच्च अदालतले कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू भन्ने परमादेश सरकारका नाउँ जारी गरेकाे थियाे । अधिवक्ताहरू केशरजंग केसी र लोकेन्द्र ओलीले एउटा रिट दायर गरेपछि त्यसमाथि गत असोज १५ गते सर्वोच्च अदालतले सुनुवाइ गर्दै सबै काेराेना संक्रमितको उपचार निःशुल्क गराउन सरकारका नाममा परमादेश जारी गरेको थियो ।
सरकारले परमादेश पुनरावलाेकन गर्न निवेदन दिएकाे थियाे । तर, स्वास्थ्य मन्त्रालयले दिएको उक्त निवेदन सर्वाेच्चले बिहिबार अस्वीकृत गरेसँगै सरकार निर्णय सच्याउने तयारीमा लागेको बताइएकाे छ ।
यसअघि कोरोना संक्रमितकाे उपचारमा लाग्ने खर्च स्वयं संक्रमितले नै व्यहाेर्नुपर्ने निर्णय सरकारले गरेको थियो। यो निर्णयसँगै सरकार आफ्नो दायित्वबाट पन्छिएको भन्दै विरोध भइरहेको छ।





























प्रतिक्रिया