प्रेस स्वतन्त्रता र मताधिकार विषयक अन्तरक्रिया

प्रेस स्वतन्त्रता र मताधिकार विषयक अन्तरक्रिया

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । भक्तपुर, १७ मंसिर ।

नेपाल पत्रकार महासंघले भक्तपुरमा प्रेस स्वतन्त्रता र मताधिकार विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले २१ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनदेखि मतगणना नसकिएसम्म पत्रकारलाई सहज रुपमा समाचार संकलन गर्ने व्यवस्था गरिदिन निर्वाचन आयोगलाई आग्रह गरे ।

अन्तरक्रियामा बोल्दै उनले सूचना पाउने अधिकारबाट पत्रकारलाई वञ्चित गर्ने कार्य हुन नहुने बताए । उनले भने, पत्रकारलाई आम नागरिकले छिटो र सत्य सूचना प्रवाह गर्ने माध्यमका रुपमा लिने भएकाले निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयले आम पत्रकारलाई सही र छिटो सूचना लिने पाउने व्यवस्था गरिदिनुपर्छ ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले २१ गतेको निर्वाचन र त्यसपछिको मतगणनाको क्रममा पत्रकारलाई सहज रुपमा सूचना संकलन गर्न सूचना अधिकृतको व्यबस्था गरिने बताए ।

कार्यक्रममा पूर्वसभामुख एवं नेपाली काँग्रेसबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार दमननाथ ढुङ्गानाले प्रेस स्वतन्त्रता बलियो भए देशमा प्रजातन्त्र बलियो हुने चर्चा गर्दै संसदमा गएर राजनीतिक फोहोर सफा गर्ने कुचिकारको रुपमा आफू आएको बताए ।

त्यस अवसरमा पूर्वमन्त्री एवं एमालेबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले नेपालमा पूर्ण रुपमा प्रेस स्वतन्त्रता कायम गर्दै यसलाई बलियो बनाउनु पर्नेमा जोड दिदै विकासको लहर ल्याउने उदेश्यले आफू चुनावमा आएको बताए ।

जनमोर्चा नेपालबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार शिवहरि खनाल, संघीय समाजवादी फोरम नेपालबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णबहादुर घजुले निर्वाचन नजिक आइसक्दा पनि मतदातामा उत्साह नआएको र समानुपातिक तर्फको मत बदर हुने सम्भावना रोक्न मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट र निर्वाचन अधिकृत उत्तम सिलवालले निर्वाचनको समयमा आम संचारमाध्यम र संचारकर्मीले पूर्ण रुपमा निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले निर्वाचनमा संचारकर्मीलाई छिटो र सहज सूचना पाउने व्यवस्था गरिदिए गलत सूचना प्रवाह नहुने बताए ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रेम विश्वकर्मा, नेपाल बार एसोसियसन भक्तपुरका सचिब किरण न्यौपाने, पत्रकार महासंघ भक्तपुरका सचिब कृष्ण नेपाल लगायत सहभागी पत्रकारले सवारी पास र मतगणनाको समयमा संचारकर्मीका लागि छुट्टै मिडिया डेक्सको व्यवस्था गर्न माग गरेका थिए ।

Logo