आपराधिक क्रियाकलाप रोक्न पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली

आपराधिक क्रियाकलाप रोक्न पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।

आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ ।

तिहार लगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागुऔषध, विष्फोटक पदार्थ, अवैध हतियारको ओसारपसारलाई रोक्न कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

पश्चिमी सीमा नाका गड्डाचौकी, महेन्द्रनगरस्थित बसपार्क, गौरीफण्टा सीमा नाका लगायत कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको उनले बताए । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सहयोगमा तालीम प्राप्त कुकुर ल्याएर सीमा क्षेत्रमा प्रभावकारी रुपमा जाँचको कार्यलाई अगाडि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले भने, “लुकाइछिपाइ लागुऔषध, बिष्फोटक पदार्थ र हातहतियार ल्याएमा तालीम प्राप्त कुकुरले सुँघेर पत्ता लगाउने गर्दछ । सीमापारबाट हुने अवाञ्छित गतिविधि रोक्नका लागि यस कार्यले सघाउ पुर्याउने छ ।”

तिहार लगायत चाडपर्व नजिकिँदै गर्दा सीमाक्षेत्र र बसपार्क क्षेत्रमा भीडभाड बढ्न थालेपछि आपराधिक क्रियाकलापसमेत बढ्न सक्ने भएकाले उच्च सर्तकता अपनाइएको उनको भनाइ छ । उनका अनुसार दुई साताका लागि कुकुरसहितको टोली सीमा नाकामा परिचालन गरिनेछ । स्थानीय प्रहरीसँग समन्वय गरी कुकुरसहितको टोलीलाई परिचालन गरिएको छ ।

सीमा क्षेत्रमा प्रहरीका सादा र पोशाकमा समेत गस्ती टोलीलाई परिचालन गरिएको छ । सीमा क्षेत्रमा केही दिनदेखि लागुऔषधसहित पक्राउ पर्नेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ । महेन्द्रनगर बस पार्क क्षेत्रबाट मात्रै प्रहरीले केही दिन अघि छ बोरा विष्फोटक पदार्थ (पटाका) बरामद गरेको थियो ।रासस

Logo