काठमाडौं,१२, मंशिर
प्रमुख दलले राजधानी काठमाडौंमा प्रचारप्रसार तीव्र पारेका छन् । उम्मेदवारी मनोनयनसँगै घरदैलोमा व्यस्त रहे पनि ठूलो सभा नगरेका दलहरूले शीर्ष नेताको सहभागितामा चुनावी सभा गर्न लागेका हुन् । दस क्षेत्र रहेको काठमाडौंका सबै ठाउँमा लोकतान्त्रिक र वाम गठबन्धन बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यद्यपि स्थानीय तह चुनावमा काठमाडौं महानगरमा उल्लेख्य मत पाएको विवेकशील साझा पार्टीलाई पनि दह्रो प्रतिस्पर्धीका रूपमा हेरिएको छ । विवेकशीलले केही क्षेत्रमा चर्चित अनुहारलाई उठाएपछि परम्परागत रूपमा प्रमुख दलले पाउँदै आएको काठमाडौंको मत बाँडिने सम्भावना छ । उसले पनि अन्यत्र भन्दा काठमाडौंकै क्षेत्रलाई बढी प्राथमिकतामा राखेको देखिन्छ ।
क्षेत्र १ मा वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा, कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझाका रवीन्द्र मिश्र बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस अघिका निर्वाचनमा कांग्रेसका सिंहले जितेको यो क्षेत्रमा यसपटक वाम गठबन्धनका शर्मा र विवेकशीलका मिश्र दुवैले चुनौती दिइरहेका छन् । क्षेत्र २ मा पनि एमालेका वरिष्ठ नेता माधव नेपाललाई कांग्रेसका दीपक कुइँकेल र विवेकशीलका सूर्यराज आचार्यले दह्रो दाबेदारी दिएका छन् । काठमाडौं ४ मा गगन थापा र राजन भट्टराईको प्रतिश्पर्धालाई पनि रोचक रुपमा हेरिएको छ ।
त्यस्तै क्षेत्र ५ मा एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र विवेकशीलका संयोजक उज्ज्वल थापा बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले माओवादी र कांग्रेस राप्रपा दुवैले १० वटै क्षेत्रलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरेका कारण काठमाडौंको चुनावले सबैको ध्यान खिचेको छ । कांग्रेसको निर्वाचन प्रचारप्रसार समिति संयोजक गगन थापाका अनुसार कांग्रेसले समेत काठमाडौंमा शीर्ष नेताको उपस्थितिमा केही दिन भित्रै सभा गर्दैछ । कांग्रेसका शीर्ष नेताहरू मंगलबार देखि चुनावी प्रचारका लागि देश दौडाहामा जाँदै छन् । सभापति शेरबहादुर देउवा सहितका केही नेता भने यस अघि देखि नै विभिन्न जिल्लामा खटिइरहेका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया