काठमाडौं ।
पदीय भागबन्डा नमिलेर मूल नेतृत्वबीच नै पार्टी फुट्ने र फुटाउने आपसी धाकधम्की चलिरहेका बेला नेकपामा थाती रहेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ को बहस ब्युँतिएको छ । त्यसको सुरुवात प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली स्वयंले प्रदेश १ बाट गरेका छन् ।
प्रधानमन्त्री ओली र सचिवालय सदस्य ईश्वर पोखरेलले बुधबार प्रदेश १ का आफूपक्षीय नेताहरूबीच ‘भर्चुअल बैठक’ गरेर जबजको पक्षमा माहोल बनाउन निर्देशन दिएका छन् । त्यसका लागि मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्म विस्तार गर्न उनीहरूले प्रदेश १ का नेताहरूलाई निर्देशन दिएका छन् । निर्देशनमा उनीहरू पक्षीय स्थानीय नेताहरू सहमत छन् ।
पार्टीको राजनीतिक कार्यक्रम र मार्गदर्शक सिद्धान्तबारेको मतभेद चैतमा तय गरिएको एकता महाधिवेशनबाट टुंगो लगाउने सहमति नेकपाभित्र छ । त्यसैले पूर्वएमाले र पूर्वमाओवादी धारले भन्दै आएको क्रमशः जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई जोडेर नेकपाले हालका लागि ‘जनताको जनवाद’ लाई आफ्नो कार्यक्रम भनेको छ । तर पूर्वएमालेहरूलाई एक ठाउँमा राख्ने रणनीतिअनुरूप जबजको बहस सुरु गरिएको ओलीनिकट स्रोतको भनाइ छ । त्यसका लागि ओलीले सबै प्रदेशका आफूनिकट नेताहरूसँग परामर्श गर्ने तयारी गरेका छन् । गत भदौ २९ गते अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले जारी गरेको अन्तरपार्टी निर्देशनमा प्रतिष्ठान तथा फाउन्डेसनका कारण गुट झाँगिएकाले त्यो रोक्नुपर्ने उल्लेख छ । तर बुधबारको बैठकमा अध्यक्ष ओली र सचिवालय सदस्य पोखरेलले पार्टी एकताको डोरी चुँडियो भने आउने जस्तोसुकै परिस्थितिका लागि पनि तयार हुन आफूपक्षीय नेताहरूलाई निर्देश गरे ।
भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो विचारलाई कसिलो बनाउन नेताहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय सदस्य देवेन्द्र दाहालले पछिल्लो समय नेतृत्वमा भएको असमझदारी र त्यसलाई हल गर्न भइरहेको प्रयासबारे प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराएको बताए । ‘भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले ज–जसलाई जे–जे जिम्मेवारी दिएको थियो, त्यो पालना नगर्दा समस्या आएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै दाहालले भने । उनका अनुसार प्रधानमन्त्री ओलीले पार्टी एकीकरण हुँदा जनताको जनवादलाई कार्यक्रम मानिएको भए पनि महाधिवेशनपछि जबज नै पार्टी कार्यक्रम बन्ने गरी अहिलेदेखि नै छलफल थाल्न निर्देशन दिए । ‘पार्टी एकीकरण हुँदा हामीले जनताको जनवादलाई नेकपाको कार्यक्रम बनायौं,’ उनले बैठकमा भनेका थिए, ‘महाधिवेशन हुँदा कुन कार्यक्रम अँगाल्ने भनेर फ्लोर ओपन हुन्छ, जबजको विषय छलफलमा जान्छ ।’
प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच समझदारी नबनेसम्म पार्टीको बैठक बस्न नसक्ने पनि स्पष्ट पारेका छन् । बैठकमा जबजलाई फैलाउन र पूर्वमाओवादी पक्षधरको पकडबाट प्रदेश १ लाई जोगाउन पनि मदन भण्डारी फाउन्डेसनलाई बलियो बनाउने समझदारी जुटेको सहभागी अर्का एक नेताले बताए । ‘जबज भनेपछि नेपाल पक्षधर नेताहरू पनि एकजुट भइहाल्छन्,’ ती नेताले भने, ‘त्यसैले पनि जबजबारे व्यापक प्रचारप्रसार जरुरी छ, त्यसका लागि मदन भण्डारी फाउन्डेसनलाई स्थानीय तहसम्मै विस्तार गरेर जानुपर्छ ।’
बैठकमा सहभागी उपप्रधानमन्त्री एवं सचिवालय सदस्य पोखरेलले विचारमा प्रस्ट नभएसम्म ठीक ढंगले अगाडि बढ्न नसकिने उल्लेख गर्दै जबज नै पार्टीको कार्यक्रम हुनुपर्ने बताएका थिए । कान्तिपुरबाट































प्रतिक्रिया