काठमाडौं ,६,मंशिर
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सक्रिय रहन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । नियमित स्वास्थ्य परिक्षणका क्रम ओम अस्पताल पुगेका निधिलाई चिकित्सकले अस्पतालमै बसेर उपचार गर्न सल्लाह दिएपछि मंगलबार अपील जारी गर्दै लोकतन्त्र रक्षाका लागि काँग्रेसले जित्नै पर्ने उल्लेख गरेका हुन् । ‘स्वास्थ्य अवस्थामा सामान्य समस्या देखिए पछि मेरो उपचार भै रहेको छ। म आराम छु,’ निधिले भनेका छन्, ‘मेरा शुभचिन्तक, पार्टी कार्यकर्ता तथा सम्पूर्ण धनुषाबासीलाई निर्वाचनको यो महान मोर्चामा अनवरत रुपमा सक्रिय रहन आह्वान गर्दछु। म पात्र मात्र हुँ। यहाँहरुको प्रतिनिधि मात्र हुँ। धनुषाका हरेक युवा, प्रौढ, सबै वर्ग, जनजाती, पेशाकर्मी र देशबासीले यसपटक लोकतन्त्र रक्षाको यो मोर्चा जित्नै पर्नेछ।’
पार्टीका नेता तथा कार्यकर्तालाई नआत्तिन र नमात्तिन आह्वान गर्दै निधिले डटेर जनताका घर–घरमा पुग्न पनि आग्रह गरेका छन् । ‘दिग्भ्रमित भएका जनतालाई बुझाउनुहोस। हामी सम्वृद्धीको महान अभियानमा छौं,’ उनको अपिलमा भनिएको छ, ‘रुखमा भोट हाल्नुहोस्। कांग्रेसका उम्मेदवारहरुलाई देशभरबाटै अत्याधिक बहुमतले विजयी बनाएर आफ्नो र भावी पुस्ताको भविष्य सुनिश्चित गर्नुहोस्।’
नागरिकबाट





























प्रतिक्रिया