केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ कात्तिक ।
राजधानी काठमाडौं उपत्यकाको मुटुमा रहेको ठमेल क्षेत्रलाई आइतबारदेखि भेइकल फ्री जोन (सवारीसाधन निषेधित क्षेत्र) बनाइएको छ । देशकै टुरिस्ट हब मानिने ठमेललाई स्थानीय सरकार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका, ठमेल पर्यटन विकास परिषद्, नागरिक समाज, स्थानीय क्लब एवम् पर्यटन व्यवसायी लगायतको सक्रिय सहभागितामा यो प्रयास अगाडि बढाइएको हो ।
आइतबारदेखि पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु सवारीसाधनलाई ठमेल प्रवेशमा रोक लगाइएको हो । ठमेललाई पैदलयात्रा गर्ने क्षेत्र (वाकिङ स्ट्रिट) बनाउनका लागि यो प्रयास अगाडि बढाइएको हो ।
ठमेलभित्र जाने सवारीसाधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने तथा ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने र ठमेलभित्र भएका होटलमा आवश्यकताअनुसार गाडीको व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले जानकारी दिए ।
यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको न्जितकारले बताए ।
प्रहरीका अनुसार, सवारी आवागमनमा कडाई गरेसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने छ ।
ठमेललाई भेइकल फ्री जोन घोषणा गरिए पनि यसको समुचित होमवर्क गरिएको देखिँदैन । पार्किङको समुचित व्यवस्थापन गरिएको छैन । यस्तोमा ठमेललाई सवारी मुक्त क्षेत्र घोषणा कसरी गर्न मिल्छ ? स्थानीय व्यवसायी एवम् अनेक ठमेलवासीकै गम्भीर गुनासो छ ।
ठमेललाई सवारीसाधन मुक्त क्षेत्र घोषणा गरिए पनि राती १० बजेदेखि बिहान ७ बजेसम्म भने सबै किसिमका वाहनहरू यथावत् ल्याउन लैजान पाइने छ ।





























प्रतिक्रिया