काठमाडौं, भदौ, २४
तेस्रो चरणको चुनावका लागि नेपाली कांग्रेसले धनुषाको जनकपुरलाई केन्द्र मानेर चुनाव प्रचार अभियान अघि बढाएको छ । यसअघि निर्वाचन आचारसंहिता नलाग्दै आठवटै जिल्लामा ठूला सभा गर्ने घोषणा कांग्रेसले गरेको थियो । तर निर्वाचन आउन १० दिन मात्रै बाँकी रहँदा कांग्रेसले प्रचारशैली फेरेको छ । उसले ठूला सभा भन्दा मतदाताको घरलाई नै केन्द्रित गरेर चुनावी अभियान थालेको छ । उम्मेदवार सहित घरदैलो गर्ने काम प्राथमिकतामा राखेर प्रचारप्रसार भइरहेको प्रचार समितिका संयोजक रमेश लेखकले बताए ।
उता नेकपा एमालेले पनि उम्मेदवारी दर्ता लगत्तै प्रदेश नं. २ मा आक्रामक चुनावी प्रचार सुरु गरेको छ । केन्द्रीय प्रचार विभागको आयोजनामा एमालेले बिहीबार र शुक्रबार तीन ठाउँमा प्रदेशस्तरीय प्रचार भेला गरेको छ । सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय सदस्य तथा विभागका उपप्रमुख सूर्य थापाले मुख्य प्रतिस्पर्धी कांग्रेसका कमजोरी उजागर हुने गरी प्रचार केन्द्रित गर्न निर्देशन दिएका छन् । यस्तै माओवादी केन्द्रले प्रत्यक्ष रूपमा मतदाता भेटेर चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएको छ । तुल, ब्यानर, पोस्टर लगायतका बाहिरी प्रचारले मात्र नपुग्ने उसको निष्कर्ष छ । मधेसमा पार्टीको संगठन कमजोर भएकाले उम्मेदवारलाई नै प्रत्यक्ष रूपमा मतदातालाई भेटाउने अभियान थालिएको माओवादी प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवले बताए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया