सन्दीप कुमार वैश्य । काठमाडौं, १९ भदौ ।
राजधानीमा नै ठुलो परिमाणमा सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ठुलो परिमाणमा रहेको ८८ किलो सुनसहित पक्राउ गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा ठुलो परिमाणमा अवैध रुपमा भित्रिएको सुन बरामद भएको हो । गाडी पार्किङ गर्ने स्थानमा विशेष सुराकीको माध्यमबाट सुन रहेको सूचना पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले आइतबार राती १० बजेदेखि नै निगरानी राखेको थियो ।
फलस्वरुप सोमबार बिहान ५ः३० बजे चालक आएर गाडी स्टार्ट गर्नासाथ निगरानीमा खटिएका महानगरीय अपराध महाशाखाको टोली पुगेर सुनसहित चालकलाई नियन्त्रणमा लिएका हुन् । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद गर्नुका साथै गाडी चालक मनोज अधिकारीलाई समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले बताए ।
बरामद भएको सुन, चालक र गाडीलाई टेकुमा राखिएको महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए । नेपालमा नै पहिलोपटक ठुलो परिमाणमा बरामद भएको सुन कसको र कहाँबाट आएको भन्ने विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु भइसकेको प्रहरी स्रोतले जनाएको छ ।
महानगरीय अपराध महाशाखाले सुन तस्करीलाई अहिले निर्मुल पर्न बिशेष कदम चलेको छ । गत साता मात्र प्रहरीले १५ किलो सुन बरामद गरेको थियो ।





























प्रतिक्रिया