भदौ ८, काठमाडौं
सरकारले विगत १ दशक देखि उपत्यकामा बाहिरी चक्रपथ निर्माणको अवधारणा ल्याएको छ ।
उपत्यकाभित्र झन्डै ४० वर्ष अघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ। चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनाबस्ती र पैदलयात्रुको चापले साँघुरिँदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो । अहिलेको चक्रपथबाट बाहिर जाने उपत्यका भित्रका सडकहरूलाई जोड्ने मुख्य बाटो नहुँदा र सडकको दायाँबायाँ अव्यवस्थित र अनियन्त्रित वस्ती विकासले थप समस्याको समाधान स्वरूप बाहिरी चक्रपथ निर्माण गर्ने योजना बनेको हो । यसका लागि आर्थिक वर्ष ०५६⁄५७ मा नेपिकोन नामक संस्थाले पूर्वसम्भाव्यता अध्ययन गर्यो । आर्थिक वर्ष ०६१⁄६२ देखि हरेक बजेटमा यो आयोजना पर्दै आएको छ।
हालसम्म ७ करोड खर्च गरिएको आयोजनाका अधिकृत धुर्व सापकोटाले बताए। उनका अनुसार सरकारले आवश्यक रकम जतिबेला पनि निकास गर्न सक्ने आश्वासन दिएको छ।बाहिरी चक्रपथ विकास आयोजनालाई आगामी वर्षका लागि १० करोड रुपियाँ विनियोजन गरिएको छ। आयोजना कार्यालयका अनुसार २५ करोड रुपियाँ माग गरिएको थियो। अधिग्रहण प्रक्रियामा पनि बजेट आवश्यक पर्ने भएकाले थप रकम आवश्यक पर्ने अधिकारीहरूको भनाइ छ।
बाहिरी चक्रपथ विकास आयोजनाले बाहिरी चक्रपथ निर्माण क्षेत्रमा पर्ने जग्गाप्राप्ति (अधिग्रहण) को प्रक्रिया शुरू गरेको छ। पहिलो चरणअन्तर्गत चोभार–सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटर लम्बाइ क्षेत्रमा अधिग्रहणमार्फत जग्गाप्राप्ति प्रक्रिया शुरू गर्न लागिएको आयोजनाका अधिकृत धुर्व सापकोटाले जानकारी दिए । कुल लम्बाइ ७१ दशमलव ९३ किलोमिटर अनुमान गरिएको छ। जसमा काठमाडौं जिल्लामा ३५ दशमलव शून्य ८, भक्तपुरमा २१ दशमलव शून्य ५ र ललितपुर जिल्लामा १५ दशमलव ८० किलोमिटर लम्बाइ पर्छ । बाहिरी चक्रपथको पहिलो खण्ड निर्माणका लागि करिब २ सयवटा घर भत्कने भएका छन्। आयोजनाका अधिकृत सापकोटाले दिनुभएको जानकारीअनुसार १५⁄२० लाखदेखि डेढ करोडसम्मका घर भत्कने भएका हुन्। यी घरका लागि सरकारले उचित क्षतिपूर्ति दिएर मुख्य बाटोमा परेको घर भत्काउने भएको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया