शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं l

संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा उक्त समूहका नेतृत्वकर्ता प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी टोलीको बिदाइ गरे ।

उक्त मिसनका लागि १८० जना प्रहरी त्यसतर्फ जाने छन् । महानिरीक्षक थापाले प्रहरी कर्मचारीलाई कार्य क्षेत्रमा आइपरेको परिस्थितिमा भएको परिवर्तन र गतिशीलतालाई ध्यानमा राखी काम गर्न निर्देशन दिए । संयुक्त राष्ट्रसङ्घीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र सङ्गठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै थापाले भने, “विदेशमा रहँदा तपाई व्यक्ति र सङ्गठन मात्र होइन, मुलुकको प्रतिनिधि हो, त्यसैले मर्यादित आचरण, अनुशान र कर्तव्यपरायणबाट विचलित हुनुहुन्न ।”

उनले आवश्यक मापदण्ड अनुसार व्यवसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न समेत निर्देशन दिए । प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्रकुमार बस्यालले त्यसतर्फ खटी जाने समूहमा एक प्रहरी उपरीक्षक, चार प्रहरी नायब उपरीक्षक, सात प्रहरी निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, १७ प्रहरी सहायक निरीक्षक, ५५ प्रहरी हबल्दार, ६५ प्रहरी जवान र सात प्रहरी कार्यालय सहयोगी रहेको जानकारी दिए । उनीहरु दुई समूहमा २०७७ कात्तिक १७ र मङ्सिर ११ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

Logo