केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ भदौ ।
ठुला ट्रक, मिनी ट्रक, टिप्पर लगायत सबै मालबाहक सवारी साधनलाई आज बिहीबारबाट निश्चित समयभित्र काठमाडौंको रिंगरोडमा गुड्न प्रतिबन्ध लगाइएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाइएको यातायात ब्यवस्था विभागले जनाएको छ ।
पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू नहुने विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । महानगरीय ट्राफिकका प्रमुख सर्वेन्द्र खनाल र यातायात विभागका पुनःनियुक्त महानिर्देशक रुपनारायण भट्टराईसहितका उच्च अधिकारीको पहलमा गत साता यस्तो निर्णय भएको थियो ।
उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको छ । अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् । यो नियम उल्लंघन गरे ५ हजारसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।
पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ गराइएको छ । गोदावरीतर्फबाट आउने ट्रकरटिप्परले धापाखेलमा पार्किङ गर्न पाएका छन् भने अरनिको र वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा नै रोकिएको छ ।
नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिएको छ ।
हिजोेसम्म टिप्परलाई मात्रै रिंगरोडमा निषेध गरिएको थियो । आजबाट भने ट्रक र मिनी ट्रक पनि रिंगरोडमा तोकिएको समय अवधिभित्र प्रवेश गर्न दिइएको छैन ।





























प्रतिक्रिया