किशोर नेपाल : गुरु कि गडफादर ? (भिडियो सहित)

किशोर नेपाल : गुरु कि गडफादर ? (भिडियो सहित)


अदिती पौडेल । २५ असार काठमाडौं ।

पत्रकारितामा द्विविधा छ, गुरु कसलाई मान्ने ? लेखन–कला सिकाउनेलाई वा कुनै सञ्चार माध्यममा जागिर दिएर ‘करियर’ बनाइदिनेलाई ?

यस्तै जिज्ञासा राखिएको थियो, किशोर नेपाललाई, जसले पत्रकारितामा ‘गुरु’को छवि बनाएका छन् । हामीले सोध्यौँ, ‘तपाईलाई गुरु मान्ने धेरैजना छन् । वास्तवमा तपाईं गुरु कि गडफादर ?’

उनले यसरी झटपट उत्तर दिए, मानौं उक्त प्रश्नसँग कैयौं पटक साक्षात्कार गरिसकेका छन् । जवाफ यस्तो थियो, ‘म गुरु पनि होइन, गडफादर पनि होइन ।’
हामीले जिद्दी गरेयौ , ‘तर, तपाईंलाई धेरैले गुरु मान्छन् ।’ दोस्रो प्रश्नमा न त उनले ठाडै अस्वीकार गरे, न आत्मस्वीकृति नै दिए ।

पत्रकारितामा ‘गुरुहरूका पनि गुरु’ भन्ने गरिन्छ, किशोर नेपाललाई । अर्थात्, उनको ‘स्कुलिङ’मा हुर्किएका थुप्रै पत्रकार छन् जो वास्तवमै किशोर नेपालप्रति ‘भक्तिभाव’ दर्शाउ“छन् । पत्रकारिताको एउटा सिंगो युग भोगेका नेपाललाई आफ्नो ‘आइडल’ र ‘गडफादर’ मान्नेको संख्या पनि कम छैन । यद्यपि उनमा दम्भ छैन, अलिकति पनि ।
किनभने, उनी ‘कसैलाई आफ्नो चेला’ भन्न चाहदैनन् । तर, क–कसले गुरु मान्छन् भन्ने कुरा चाहिँ सम्झन/स्मरण गर्न सक्छन् । उनले त्यस्ता नाम फटाफट भने, जसमा साप्ताहिक/नारीका सम्पादक सुवास ढकाल, मुकुन्द बोगटीदेखि पछिल्लो पुस्ताकी सजना बरालसम्म थिए ।

बजारमा स्थापित केही पत्रिका छन्, जसको भ्रुण किशोर नेपालले नै पैदा गरेका हुन् । र, त्यही पत्रिकामार्फत उनले थुप्रै तन्नेरीलाई ‘पत्रकार’ बनाएका छन् । भनिन्छ, उनी आफूले नेतृत्व गरेको टिममा  नयाँलाई ‘स्पेस’ दिन बढी उत्सुक हुन्छन् जबकि अधिकांश सम्पादक आफ्नो टिममा खिपिएका र खारिएका जनशक्ति खोजिरहेका हुन्छन् । यस हिसाबले नेपाल अपवाद हुन्, जो सिकारुको हात समातेर पत्रकारिताका अवयव खिप्न सिकाउ“छन् । त्यही गुणले नै हो, उनलाई ‘गुरु’ बनाएको ।

यदि त्यसो नहुँदो हो त, गुरु पूर्णिमामा उनको निवासमा पत्रकारहरूको ता“ती लाग्ने थिएन होला । ‘भाइबहिनीहरू गुरु सम्झिएर आउँछन्,’ नेपाल भन्छन्, ‘गर्व लाग्छ ।’
वास्तवमा किशोर नेपाल आफैँमा एउटा विश्वविद्यालय जस्ता छन् । चाहे राजनीतिका गम्भीर कुरा होऊन् वा तन्नेरीका बैंसालु कुरा नै, उनी गज्जबले लेख्छन् । लेखन–कला त अनुशरणयोग्य छ नै, ज्ञान भण्डार पनि ईष्र्यालाग्दो छ । निरंकुश पञ्चायती शासनसत्ताको चरमोत्कर्षका बेला पत्रकारिता थाल्दाका उनका धेरैजसो समकालीनहरू लाखापाखा लागिसके, विश्राम लिइसके । तर ती धेरै ‘एक समयका पत्रकारहरू’ को तुलनामा किशोर नेपाल अझै उत्तिकै सक्रिय छन् । किशोरको कपाल सेताम्मै फुलेर के भयो र ? पत्रकारिता र लेखनमा उनको गतिशीलता निरन्तर छ । सायद यही कहिल्यै नथाक्ने लेखनले पनि हुनसक्छ, उनलाई ‘गुरु’को दर्जा दिइएको ।

 

 

Logo