सबै अस्पतालले कोरोनाका लागि ५० प्रतिशत बेड छुट्याउनु पर्ने , उपचार राज्यले नगर्ने

सबै अस्पतालले कोरोनाका लागि ५० प्रतिशत बेड छुट्याउनु पर्ने , उपचार राज्यले नगर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अब सबै अस्पतालले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउनु पर्ने भएको छ।

सरकारले यसअघि गरेको निर्णय परिवर्तन गर्दै निजी, सहकारी, सामुदायिक, मेडिकल कलेज र सबै सरकारी अस्पताललाई कोरोनाको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य गर्न निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ५० प्रतिशत बेडमा आईसीयूसमेत हुनु पर्नेछ। यसअघि सरकारले निजी, सहकारी र सामुदायिक अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत बेड छुट्याउनु पर्ने निर्णय गरेको थियो । यसलाई परिवर्तन गर्दै सरकारले नयाँ निर्णय गरेको हो।

‘अस्पताल व्यवस्थापनको अहिलेको व्यवस्था अनुसार निजी, सहकारी र सामुदायिक अस्पतालमा २० प्रतिशत र मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या कोभिड–१९ का लागि छुट्याउनु पर्ने निर्णय भएकोमा सो निर्णय परिवर्तन गरी अब सबै निजी, सहकारी, सामुदायिक अस्पताल, सरकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई कम्तिमा ५० प्रतिशत सबै किसिमका शैय्या आईसीयू लगायतका पूर्वाधार कोभिड १९ को व्यवस्थापनका लागि छुट्टाउनु पर्ने निर्णय भएको छ’, प्रवक्ता गौतमले भने।

कोरोनाको उपचार सरकारले नगर्ने

त्यसैगरी सरकारले कोरोनाको परीक्षण र उपचार नगर्ने भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीमा लक्षण देखिए मात्र निःशुल्क परीक्षण र उपचार गर्नेछ । उनीहरुकोसमेत बीमा गरेको भए उपचार र परीक्षण खर्च बीमाबाट काटिनेछ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले भने, ‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गराउने निर्णय भएको छ।’ यो निर्णय आइतबारबाटै लागू भएको उनले प्रष्ट पारे ।अन्नपूर्णबाट

Logo