काठमाडौँ । दशैँ नजिकिएको छ । दशैँ भन्नासाथ नयाँ नोटको कुरा आउँछ ।
यसै सन्दर्भमा हामीले नयाँ नोटमा हस्ताक्षर गर्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरहरूसँग कुराकानी गरेका छौं । उनीहरूले आफुले नोटमा हस्ताक्षर गर्दा र त्यो नोट हात परेपछिका अनुभूतिहरू केन्द्रबिन्दुसँग ‘शेयर’ गरेका छन् ।
राष्ट्र बैंकको स्थापनाको सुरुवातदेखि हालसम्मका गभर्नरसम्म आइपुग्दा उनीहरुले संगालेका अनुभूतिहरु जस्ताको तस्तै हामीले प्रस्तुत गरेका छन् । प्रस्तुत छ, उनीहरूका आफ्नै शब्दमा नोटमा हस्ताक्षर गर्दाको अनुभूति ।
हिमालयशंशेर राणा

नेपाल राष्ट्र बैंकको स्थापना हुनुअघि नोट निष्काशनको प्रबन्ध पनि राम्रो थिएन । त्यतिवेला दशैंमा नयाँ नोट प्रयोग गर्न पाउने अवस्था पनि त्यति थिएन ।
२०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएपछि मेरो काँधमा पहिलो गभर्नरको जिम्मेवारी आयो । पहिलो गभर्नरको हैसियतले राष्ट्र बैंकले निष्कासन गरेको नोटमा हस्ताक्षर गर्न पाएको थिएँ । राष्ट्र बैंक भर्खर भर्खर खुलेको थियो, त्यसवेला पर्याप्त कुर्सी तथा टेबुल पनि थिएनन् ।
मैले भुइँमा बसेर नोटमा हस्ताक्षर गरेको याद अझै ताजै छ ।
राष्ट्र बैंकको स्थापना भएसँगै नयाँ नोट निष्काशनको थालनी भयो । त्यो नै हामी नेपालीहरुका लागि ठूलो खुशीको कुरा थियो । त्यसैमाथि पहिलो पटक आफुले हस्ताक्षर गरेका नोट आउँदा खुशी चाँही पक्कै लाग्छ । तर, त्यतिवेला नोटमा हस्ताक्षर गर्दा हस्ताक्षरको महत्व पनि बुझिएन ।
अहिले मसँग आफूले हस्ताक्षर गरेको एउटा पनि नोट छैन । महत्व नबुझेका कारण आफुले हस्ताक्षर गरेका नोट राख्नुपर्छ भन्ने पनि थाहा भएन र राखिएन पनि । अहिले सम्झिँदा पछुतो लाग्छ । राख्नुपर्ने रहेछ भन्ने लाग्छ । धेरै पछि मात्रै थाहा भयो हस्ताक्षरको महत्व । पछि पछि पैसामा हस्ताक्षर गर्ने गभर्नर भन्दा बल्ल त्यसको महत्व बुझियो ।
तिलक रावल

सबैले प्रयोग गर्ने नोटमा आफ्नो सही देख्दा खुशी नै लाग्छ । आनन्दको अनुभूति हुन्छ । झन दशैंका बेला त खुशी लाग्नु स्वभाविकै हो । किनकी त्यसवेला सम्पूर्ण नेपालीहरूले टिका लगाउँदा होस वा देवी देवताका मन्दिरमा पूजा आजा गर्दा होस्, नयाँ नोट प्रयोग गर्छन् ।
त्यतिवेला अन्य समयको तुलनामा नयाँ नोटको प्रयोग बढी नै हुन्छ । त्यसैले ती सबै नोटमा आफ्नो हस्ताक्षर देख्दा किन खुशी नलाग्नु र ! त्यस्तो देख्दा गभर्नरको पद निकै ठूलो र प्रतिष्ठित रहेछ, मैले सबैले प्रयोग गर्न पैसामा हस्ताक्षर गर्न पाएँ भनेर गर्वको महशुस पनि हुने रहेछ ।
नयाँ नोटमा हस्ताक्षर गरेको कुराले मलाई पोलिमर नोटको घटना याद पनि आउँछ ।
१० रुपैँयाको नयाँ पोलिमर नोटमा मेरो हस्ताक्षर थियो । त्यस केशमा हामीले मुद्धा पनि खेप्यौ र सफाइ पनि पायौँ । त्यस नोटको मलाई बढी सम्झना आउँछ । त्यो नोट बजारमा आउँदा बढो राम्रो नोट आयो भनेर सबैले राम्रो मानेका थिए, प्रशंसा गरेका थिए । त्यसैले त्यस नोटमा गरेको हस्ताक्षर पनि याद आउँछ मलाई । त्यसैले यो घटना मेरा लागि धेरै संबेदनशील घटना हो ।
दीपेन्द्र क्षेत्री

म राष्ट्र बैंकमा मुद्रा व्यवस्थापन विभागको प्रमुख भएर बसेको हुनाले आफैले हस्ताक्षर गरेका नोटहरु देख्दा मलाई कुनै उत्साह उमंग भने लागेन । म त्यहाँ हुँदा तिलक रावलदेखि विजय भट्टराईसम्मले नोटमा हस्ताक्षर गरेका नोटहरु चल्ती चलनमा ल्याइएका थिए । त्यसताका कायम मुकायम गभर्नरले हस्ताक्षर गरेका नोटहरु पनि चल्ती चलनमा ल्याइएको थियो ।
तर, मलाई भने त्यस्तो कुनै उत्साह भएन । आफैले सबै काम सम्हालेको हुनाले मलाई त्यस्तो कुनै प्रकारको उत्साह लागेन । मेरो पालामा त ५ सयको नोटमा मात्रै हस्ताक्षर गर्ने मौका पाएको थिए ।
दशैंका बेला भन्दा पनि पहिलो पटक आफुले ‘साइन’ गरेका नयाँ नोट आउँदा त्यसको केही ‘चार्म’ भने हुने रहेछ । राष्ट्र बैंकका प्रोडक्ट नै गभर्नर भए भने त्यस्तो उत्साह हुन्छ होला भन्ने लाग्दैन । तर, बाहिरबाट आएको गभर्नर छ भने चाँही पक्कै उत्साह हुन्छ भन्ने मलाई लाग्छ ।
डा. चिरन्जीबी नेपाल
म गभर्नर हुँदा दशैंमा जस्तै अन्य चाडपर्वहरुमा पनि नयाँ नोट साट्न पाउन् भनेर राष्ट्रिय पर्वहरुमा नयाँ नोट साट्न पाउने व्यवस्था गरेको थिएँ । अहिले हरेक नेपालीहरुले दशैंमा मात्र होइन,अन्य चाडपर्वहरुमा पनि नयाँ नोट सटहीको सुविधा प्राप्त गर्न सक्छन् ।

तर, नयाँ नोटलाई सँधै नयाँ राख्न सक्नुपर्छ । नयाँ नोटलाई सबैले जतन गर्नुपर्छ । साच्चै नै भन्दा आफुले गभर्नरको रुपमा हस्ताक्षर गरेका नयाँ नोट देख्दा एक किसिमको आनन्द भने आउने रहेछ ।
कसैले नोटमा कस्को हस्ताक्षर हो भन्ने चासो राख्ने कुरा भएन । मानिसलाई पैसाको भ्यालुसँग मतलब हुन्छ । तर हाम्रो केशमा भने पैसाको भ्यालु भन्दा पनि आफ्नो हस्ताक्षरसँग चासो हुने रहेछ ।
म गभर्नर भएको एक/डेढ वर्षपछि मात्रै मैले हस्ताक्षर गरेका नयाँ नोटहरु बजारमा आएका थिए । मेरो हस्ताक्षर भएका नोट आएपछि मैले मेरा नजिकका आफन्तहरूलाई चिनोको रुपमा राख्न दिएको थिए । त्यसैले यस बखतको क्षण अली फरक नै हुँदो रहेछ । दशैंमा मात्रै होइन,अरू बेलामा पनि आफुले हस्ताक्षर गरेका सफा नयाँ नोट देख्दा यसलाई फोहोर गर्न हुन्न भन्ने लाग्थ्यो ।
अरुलाई पनि नोट फोहोर नगर्नु भन्न मन लाग्थ्यो । हुन त अर्काले गरेको काममा हस्तक्षेप गर्ने कुरा हुँदैन । तैपनि नोट फोहोर नगर्नु भन्न चाँही मन लाग्दो रहेछ । देवदेबीका विभिन्न मन्दिरमा जाँदा पनि पैसामा टिका नछर्नु, फोहोर नगर्नु भन्न मन लाग्दो रहेछ । मैले केन्द्रीय बैंकको प्रमुखको जिम्मेवारी सम्हालेको एक वर्षपछि नेपाली ढाँचामा डिजाइन गरिएको एक सयको नोटमा हस्ताक्षर गरेको थिएँ ।
त्यसमा चितवनको चार कोशे झाडीमा आमासँग बसेको गैंडाको केटोको फोटो राखिएको थियो । ती नोटमा हस्ताक्षर गरेको आजै जस्तो लाग्छ । तर पाँच वर्ष वितेको पत्तै भएन । सुरुमा गभर्नर भएर गए पनि मलाई त्यतिधेरै जिम्मेवारी महसुस त भएको जस्तो लाग्दैनथ्यो । तर जुन दिन मैले नोटमा हस्ताक्षर गरेँ, त्यो दिनदेखि भने मनमा एक प्रकारको आनन्द तथा जिम्मेवारीको महसुस भयो । त्यसले मनमा एक खालको आनन्दको अनुभूति भयो ।





























प्रतिक्रिया