शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुलाउने तयारी

शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुलाउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् ।

काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, वंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन् । दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नु पर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् ।

मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए । विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नु पर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताए । तर सरकारबाटअहिले सम्म कुनै निर्णय आइनसकेको उनले बताए। तरपनि स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए ।

कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजा आजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ । अन्यक्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन । तर अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सिमितरुपमा भए पनि खुल्ला गर्ने तयारीमा जुटेका छन् ।

Logo