धरहरा पुनर्निर्माणका लागि नौ महिना म्याद थप, अहिलेसम्म १६ तला निर्माण (भिडियाेसहित)

धरहरा पुनर्निर्माणका लागि नौ महिना म्याद थप, अहिलेसम्म १६ तला निर्माण (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख) भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । कोभिड–१९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थप गरेको हो ।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर (इन्जिनियर) श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए । अहिलेसम्म धरहराको १६ तल्ला ढलान भइसकेको जानकारी पनि श्रेष्ठले दिए । त्यसबाहेक धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको उनको भनाइ छ । जसमा ४ सय वटा सानो गाडी र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ ।

त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उनले बताए । कोभिड–१९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको उनको तर्क छ । अहिले थपिएको समयमा पनि पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौति रहेको श्रेष्ठको भनाइ छ ।

२२ तला रहेको धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३ सय ५० जनाले काम गरेका थिए । लकडाउनको बेला पनि २०÷२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने २ सय ५० जना कामदारहरु मार्फत कामलाई तीव्रता दिएको जनाएको छ ।

Logo