कर्मचारीमा कोरोना भएपछि काभ्रेका मण्डनदेउपुर र रोशीमा अत्यावश्यक बाहेकका सेवा बन्द

कर्मचारीमा कोरोना भएपछि काभ्रेका मण्डनदेउपुर र रोशीमा अत्यावश्यक बाहेकका सेवा बन्द


काभ्रे।

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि काभ्रेपलाञ्चोक जिल्लाका दुई सरकारी कार्यालय र दुई स्थानीय तहका सेवा बन्द गरिएका छन् । जिल्ला स्वास्थ्य, मालपोत कार्यालय तथा मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् ।

मालपोत कार्यालय धुलिखेलले आज सार्वजनिक सूचना जारी गर्दै असोज ३० गतेसम्मका लागि नियमित सेवा स्थगित भएको जनाएको छ । स्वास्थ्य कार्यालयले पनि कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएको जनाउँदै आजबाट अर्को सूचना जारी नभएसम्मका लागि आन्तरिक काम मात्रै सञ्चालन हुने कार्यालयका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले जानकारी दिए ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिकाले पनि विहीबार सूचना जारी गरी नगरपालिका भित्रका विभिन्न वडामा कोरोना पुष्टि भएकाले नगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालय, विद्यालय तथा सम्पूर्ण कार्यालय एवम् गैरसरकारी संघ/संस्थाहरुबाट हुने काम समेत बन्द भएको जनाएको छ । नगरपालिकाले नगरभित्र हुने कुनै पनि तालिम, भेला, जमघटमा समेत रोक लगाउनुका साथै बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्री बाहेकका होटल, पसल तथा व्यवसाय समेत बन्द गराएको छ ।

यस्तै जिल्लाको रोशी गाउँपालिकाले पनि गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि गत आइतबारदेखि अनिश्चित कालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएकाले सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा र विद्युतीय माध्यमबाट हुन सक्ने सेवा भने सञ्चालन हुने जनाएको छ ।रासस

Logo