काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया अन्यौलमा परेको छ ।
मन्त्रीमण्डल पुनर्गठनका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन सातादेखि छलफल भए पनि सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको काममा पार्टीले हस्तक्षेप गर्न नहुने अडान लिँदै आएका छन् भने पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको निर्देशन अनुसार सरकार सञ्चालन हुनुपर्ने अडान राख्दै आएका छन् । जसको कारण दुई अध्यक्षबीच सहमति जुट्न सकिरहेको छैन । पार्टीले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने निर्णय गरेको तीन साताभन्दा बढी समय बितिसक्दा समेत कार्यान्वयन नभएको भन्दै नेताहरुले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाउँदै आएका छन् ।
पार्टीको स्थायी कमिटी बैठले राजनीतिक र संवैधानिक नियुक्ति गर्दै पार्टीभित्र सल्लाह गरेर मात्र गर्नुपर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले बेलायतका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि डा. युवराज खतिवडालाई सिफारिस गरेपछि नेकपाभित्र विवाद पुनः शुरु भएको छ ।
चार महिनासम्म जारी आन्तरिक विवाद समाधान गर्न सफल भएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अहिले पार्टीको निर्णय नमानेको प्रचण्डले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरुलाई ब्रिफिङ गरेका छन् । ‘प्रधानमन्त्रीजीको कार्यशैलीमा सुधार आउने अपेक्षा गरिएको थियो, पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न बनेको समझदारी अनुसार ओलीजी अगाडि बढनु भएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने– ‘मन्त्रीमण्डल पुनर्गठनमा पनि प्रधानमन्त्रीले आफू अनुकूलको व्यक्तिलाई ल्याउन खोजेपछि समस्याको गाँठो फुक्न सकेको छैन ।’
प्रधानमन्त्री ओलीले तत्कालको लागि खाली रहेको तीन मन्त्रालयमा नयाँमन्त्री थप्ने र बाँकी मन्त्रीहरुको विषयमा परामर्श गर्दै जाने प्रस्ताव गरे पनि प्रचण्ड भने एकपटक मन्त्रीहरु हेरफेर गर्नुपर्ने अडानमा रहँदै आएका छन् । अहिलेकै अवस्थामा मन्त्रीमण्डल पुनर्गठन गर्दा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाएर मन्त्री बनाए प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरु बढी हुने बुझाइ प्रधानमन्त्री ओलीको रहेको बताइएको छ ।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया