मेयर शाक्यबाट निर्माणाधीन पार्कहरुको अवलोकन : चावहिल चोकमा निर्माण भएको आकाशे पुलकाे शुभारम्भ

मेयर शाक्यबाट निर्माणाधीन पार्कहरुको अवलोकन : चावहिल चोकमा निर्माण भएको आकाशे पुलकाे शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड महामारीको समस्या समाधान गर्दै पार्क निर्माण र हरियाली प्रबर्धनलाई जोड दिएको बताउँदै काठमार्डाैं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वडा नं. ६ मा मात्र करीब ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको बताएका छन् ।

आज आकाशे पुलको उद्घाटन, वडा भवन र पार्क निर्माणस्थलको अवलोकनपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । वडा ७ चावहिल चोकमा आकाशे पुलको उदघाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माणस्थल, त्यही वडाको निर्माणाधीन बागमती नगरपार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरेका थिए । अवलोकनका क्रममा वडा ६ कार्यालय भवन निर्माण कार्यको प्रगति विवरण पनि लिएका थिए । त्यस्तै बागमतीनगर र शान्ति नमूना पार्क निर्माणस्थलको अवलोकन गरेपछि उनले भने -‘महानगरका क्षेत्रगत काममध्ये आजको अवलोकन यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापन, पार्क निर्माण र हरियाली प्रबर्धन कार्यक्रममा केन्द्रीत छ ।’

खुल्ला ठाउँलाई अहिले पनि जोगाउन सकिएन भने भोलि सहरले झन् ठूलो संकट व्यहोर्नुपर्ने हुन सक्छ । त्यसैले हामीले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने अभियान थालेका हौं । मेयर शाक्यले भने- ‘सहरको अर्को ठूलो समस्या भनेको ट्राफिक व्यवस्थापन, पैदल यात्रु सुरक्षा र पार्किङ व्यवस्थापन हो ।’

पैदल यात्रु सुरक्षाका लागि आकाशे पुल निर्माण गरिरहेका छौं । पिक एण्ड ड्रप लगायत अभियानबाट ट्राफिक व्यवस्थापनमा प्रयास गर्दैछौंं । मेयर शाक्यले, पार्किङ व्यवस्थापनको प्रसङ्ग उठाउँदै भने- ‘यदि कसैले जग्गा उपलब्ध गराउँछ भने पार्किङ भवन हामी बनाइदिन्छौं । म तपाईंमार्फत सबैमा आव्हान गर्न चाहन्छु । जग्गा भए वडामार्फत महानगरमा प्रस्ताव लिएर आउनोस् ।’

आकाशे पुलको संख्या थपिँदै

फलामबाट बनेको चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो । बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो । ०७६ कार्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गर्ने बेलामा सडक किनारा क्षेत्र कम भएकोले निर्माण कार्य हुन सकेको थिएन । जग्गाको समस्या समाधान गरेर माघ १६ गते पुलको शिलान्यास गरिएको थियोे । सम्झौता बमोजिम पुल निर्माणको काम ०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने थियो । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ ।

योसँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ । महानगरका मेयर शाक्यका अनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् । यो आवश्यकता पनि हो । उनले भने -‘माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको छ । यो बर्ष हामी अन्य बिभिन्न ठाउँमा निर्माण गर्दैछौं ।’

Logo