५ वर्षमा देशभरि ८ हजार ७४ बलात्कारका घटना !

५ वर्षमा देशभरि ८ हजार ७४ बलात्कारका घटना !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको शव असोज ७ गते स्थानीय शिवमन्दिर नजिकै फेला पर्‍यो । घटना भएकै दिन खिकालाकै राजेन्द्र बोहरा पक्राउ परे । सम्झनालाई बलात्कार र त्यसपछि हत्या बोहराले गरेको दाबी प्रहरीले गर्दै आएको छ । बोहराले आरोप स्विकारेका छैनन् । शव अझै जिल्ला अस्पतालमा छ ।

पछिल्ला दिनमा बलात्कारका घटना बढ्दै गएपछि सर्व साधारणदेखि सांसदसम्मले दोषीलाई मृत्युदण्ड हुने कानुन ल्याउनुपर्ने माग अघि सारेका छन् । केही महिला सांसदले अनौपचारिक छलफलका क्रममा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुने गरी प्रस्ताव अघि सारे पनि त्यो तत्काल असम्भव रहेको नेकपा सांसद बिन्दा पाण्डेले बताइन् । ‘बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्ने माग आएको छ तर यो अहिले सम्भव देखिँदैन,’ उनले भनिन्, ‘यो विषयमा बहस र छलफल गर्न सकिन्छ तर राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुन तथा सन्धिसम्झौताले हामीलाई यसमा जान दिँदैन ।’ भएका कानुनको पालना र तल्लो तहसम्म जनचेतना फैलाए बलात्कार र यसका प्रयास सम्बन्धी अपराध नियन्त्रणमा सघाउ पुग्ने उनले बताइन् । उनले दाताको पैसासँग हाम्रा स्वविवेकीय अधिकार साटेका कारण एक्लै विशिष्टीकृत किसिमका कानुन बनाउन कठिन रहेको बताइन् ।

बलात्कार र बलात्कार प्रयासविरुद्ध कठोर कानुनी कारबाही गर्नुपर्ने माग हरेक घटनापछि उठ्ने गर्छ । राजनीतिक दलका नेता/कार्यकर्तादेखि सामाजिक अभियन्ता हुँदै सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्म यसको चर्चा हुन्छ । तर अपराधमा सार्वजनिक पद धारण गरेकादेखि ‘प्रतिष्ठा’ आर्जन गरेका व्यक्ति मुछिएपछि सार्वजनिक धारणा र बहस पनि विभाजित हुने गरेका छन् ।

कतिपय यौनजन्य हिंसामा पीडित भनिएका पक्षबाट पनि अर्को पक्षमाथि आर्थिक मोलमोलाईमा अपराध ढाकछोप गर्न खोजिएका घटना पनि हुने गरेका छन् । तर यसविरुद्ध सबैको एकमत अझै हुन सकेको छैन । नेपाल प्रहरीको तथ्यांक अनुसार २०७२/७३ देखि २०७६/७७ सम्मको ५ वर्षमा बलात्कारका ८ हजार ७४ घटना र बलात्कार प्रयासका ३ हजार १ सय ८८ वटा केस प्रहरीमा दर्ता भए । यो अपराध आरोपमा बहालवाला सभामुख कृष्णबहादुर महरादेखि नेपाल प्रहरीका एसएसपी सौरभ राणासम्म मुछिए । तर दुवै जनाले आरोपबाट सफाइ पाए ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १ हजार ८०, २०७३/७४ मा १ हजार ३ सय ३१, २०७४/०७५ मा १ हजार ४ सय ८०, २०७५/७६ मा २ हजार २ सय ३० र २०७६/७७ मा २ हजार १ सय ४४ जनामाथि बलात्कार भएको छ । २०७२ देखि २०७६/७७ को अवधिमा क्रमशः ४ सय ५२, ५ सय ३६, ७ सय २७, ७ सय ८६ र गएको वर्ष ६ सय ८७ जनामाथि बलात्कार प्रयास भए ।

प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले देशभर बलात्कार लगायत लैगिक हिंसाका अपराध सम्बन्धी ८५ प्रतिशत घटनामा महिला/बालबालिका पीडित हुने गरेको बताए । लैगिक हिंसामध्ये ११ प्रतिशत बलात्कारका घटना छन् । कान्तिपुरबाट

Logo