नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

केन्द्रबिन्दु
0
Shares

बैतडी ।

कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर (बम) को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने निर्णय गरेको छ । नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए । उनले भने, “सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ, आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाएका छौँ ।”

भारतको बैङ्लोरबाट फर्किएका पुर्चौडी–३ का २९ वर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए । मृत भेटिएका ती पुरुषको शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरी परीक्षण गर्ने निर्णय पनि भएको छ ।

छ दिन अघि बैङ्लोरबाट हिँडेका ती पुरुष बिहीबार कैलालीको गौरीफण्टा नाकाबाट नेपाल भित्रिएको बताइएको छ । गौरीफण्टादेखि मृत भेटिएको स्थानसम्म ती पुरुषको सम्पर्कमा आएका र उनी चढेर आएका सवारी साधनका स्टाफ र यात्रुहरुको पनि कोरोना परीक्षण गरिने भएको छ ।

पुर्चौडीमा अहिलेसम्म २० जनामा सङ्क्रमण पुष्टि हुँदा आठ जना अझै सक्रिय सङ्क्रमित छन् । मृत भेटिएका व्यक्तिमा कोरोना पुष्टि हुँदा गाउँमा त्रास फैलिएको स्थानीय अनिरुद्र जोशीले बताए । उनले भने, “भारतबाट फर्किएर गाउँमै पुगेर कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि त्रास बढेको छ ।”

विद्यालयहरु पुनः बन्द

पुर्चौडीका विद्यालयहरु पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए । असोज ७ देखि सञ्चालनमा आएका विद्यालय आजदेखि पुनः बन्द भएका नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए । उनले भने, “नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द भएका छन् । आइतबार विद्यालय सञ्चालनमा आएका भए पनि पछि नगरपालिकाले सूचना निकालेपछि बीचमै बन्द गरेका छौँ ।”

पुर्चौडी–३ का २९ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु हुनुका साथै अन्य आठ नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको हो । विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको शिक्षा शाखा प्रमुख नागरीको भनाइ छ । शिक्षण सिकाइ सहजीकरण निर्देशिका, ०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नु पर्दा पठनपाठनमा समस्या देखिएको उनले बताए। उनले भने, “यस अघि नगरपालिका कोरोना सङ्क्रमित मुक्त भएकाले विद्यालय सञ्चालनमा ल्याएका थियौँ, अब नगरपालिकाले अर्को निर्णय नगर्दासम्म विद्यालय बन्द रहन्छन् ।”

पुर्चौडीमा ७५ सामुदायिक विद्यालय मध्ये ३९ वटामा क्वारेन्टाइन कक्ष र आइसोलेसन कक्ष राखिएका थियो । नगरका ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत छन् । बैतडी जिल्लाभरि हालसम्म ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ ।रासस

Logo