दाङमा एकवर्षमा सर्पदंशबाट १७ जनाको मृत्यु, यस वर्षबाट उपचार केन्द्र सञ्चालनमा

दाङमा एकवर्षमा सर्पदंशबाट १७ जनाको मृत्यु, यस वर्षबाट उपचार केन्द्र सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

दाङ ।

दाङको गढवामा भर्खरै सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा दुई जना सर्पले डसेका बिरामीको सफल उपचार भएको छ । असोज ४ गते सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा सर्पदंश घटनाका दुई जना बिरामी उपचारबाट निको भएर घर फर्केका केन्द्रले जनाएको छ । जिल्लाकै गढवा गाउँपालिका– ५ का आठ वर्षीय रामकृष्ण पौडेल र गढवा–६ का ८० वर्षीय तुल्ला जोगी उपचारपछि निको भएर घर फर्केका केन्द्रका स्वास्थ्य प्राविधिक जीवराज शर्माले बताए ।

केन्द्र सञ्चालनमा नआउँदा यस क्षेत्रका सर्पदंशका बिरामीलाई कपिलवस्तुको गोरूसिंगे र बाँकेको शम्शेरगञ्ज जानुपर्ने बाध्यता थियो । उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण पनि कतिपय सर्पदंशका बिरामीको बीच बाटोमै मृत्यु हुने गरेको थियो । गत आर्थिक वर्ष जिल्लामा १७ जनाको सर्पदंशबाट मृत्यु भएको जिल्ला आपतकालीन उद्धार केन्द्रले जनाएको छ ।

जिल्लामै सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै यस क्षेत्रका सर्पदंशका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीवासी खुशी भएका छन् । दाङ सर्पदंशका घटना बाक्लै हुने जिल्लामा पर्ने गरेको बताइएको छ ।

झारफुक प्रवृत्ति कायमै

सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।

“सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धाँमीझाक्री खोज्ने चलन अझै पनि कायमै रहेको छ”, केन्द्रका स्वास्थ्य प्राविधिक शर्माले भने, “जिल्लामा करिब ५ प्रतिशत बिरामी पहिला धामीझाँक्री र त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।” यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनु परेको उनको भनाइ छ ।

“सबै सर्प विषालु हुँदैनन्, जिल्लामा ६० प्रतिशतभन्दा बढी ननपोइजनस घटना हुन्छन्”, उनले भने, “ती बिरामी घरमै बसे पनि मर्दैनन् । यिनै घटनामा धाँमीझाक्री र झारफुकको भ्रम पर्छ र विषालु सर्पले टोकेका बिरामीले ज्यान गुमाउँछन् ।”

Logo