काठमाडौं,
चालू आर्थिक वर्ष (आव) २०७५,७६ सकिन ३८ दिन बाँकी रहँदा कुल बजेटको ४० प्रतिशत खर्च हुन बाँकी देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस वर्ष चालूतर्फ ८ खर्ब ४५ अर्ब छुट्याइएकोमा उक्त शीर्षकको ६९ दशमलव ३ प्रतिशत बजेट मात्र खर्च भएको हो ।
यस्तै, पूँजीगततर्फ ३ खर्ब १३ अर्ब छुट्याइएकोमा ४६ दशमलव १ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब विनियोजन गरिएकामा जम्मा ३६ दशमलव ६ प्रतिशत खर्च भएको छ । जेठ २४ सम्ममा कुल बजेटको ६० प्रतिशत मात्रै खर्च भएको देखिन्छ ।
मुख्य विकासे अड्डा मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई चालू आवमा १ खर्ब १ अर्ब ४० करोड विनियोजन भएको थियो । चालूतर्फ ८७ प्रतिशत बजेट खर्च गरेको उक्त मन्त्रालयको पूँजीगत खर्च ६३ दशमलव १ प्रतिशत छ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ४७ अर्ब छुट्याइएको थियो । चालूतर्फ ३८ दशमलव १ प्रतिशत खर्च गर्न सफल उक्त मन्त्रालयले पूँजीगततर्फ विनियोजित बजेटको ५० दशमलव ९ प्रतिशत मात्र खर्च गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चालू आवमा ७२ अर्ब छुट्याइएको थियो । चालूतर्फ ६६ दशमलव ८ प्रतिशत खर्च भएकामा पूँजीगततर्फ २८ दशमलव १ प्रतिशत मात्रै खर्च गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई चालू आवमा ३३ अर्ब ७१ करोड विनियोजन भएको थियो । त्यसमध्ये चालूतर्फ ६१ दशमलव ४ प्रतिशत खर्च भएको छ भने विकासतर्फ ३४ दशमलव ९ प्रतिशत मात्र खर्च भएको छ । यस्तै, गृह मन्त्रालयलाई ५४ अर्ब ३१ करोड विनियोजन भएकामा चालूतर्फ ८५ प्रतिशत खर्च गरेको छ भने पूँजीगत खर्च ४३ दशमलव २ प्रतिशतमा सीमित छ ।
अभियानबाट
प्रकाशित: २६ जेठ २०७६ ०८:२८ आइतबार