काठमाडौं,
सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमा नाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ । उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ ।
भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो ।
दूतावासको पत्रमा भारतबाट निर्वाध रुपमा नेपालमा खाद्यलगायत सामग्री भित्रिन पाउनुपर्ने भन्दै जाँचप्रति आपत्ति जनाइएको छ । पत्रबाहेक दूतावासका अधिकारीहरुले पनि सरकारका मन्त्री र मन्त्रालयका उच्च कर्मचारीलाई भेटेर जाँच गर्ने व्यवस्था हटाउन माग गरेका छन् ।
जेठ १० मा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी उद्योग वाणिज्य मन्त्रालयले भारत लगायत मुलुकबाट आयात हुने ‘क्याफिन’ युक्त शक्तिवद्र्धक पेय पदार्थमा पूर्ण बन्देज लगाएको छ । सोही निर्णय अनुसार आयात हुने ताजा तरकारी, फलफूल सम्बन्धित भन्सार बिन्दुमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य परीक्षण गर्नुपर्छ ।
नयाँ व्यवस्था अनुसार भैरहवा (सुनौली), वीरगन्ज, काँकडभिट्टा लगायत नाकाबाट भित्रिने तरकारी तथा फलफूलको क्वारेन्टाइन र विषादी मात्रा परीक्षण गर्न थालिएको छ । विषादीरहित प्रमाणित सामान मात्र नेपाल भित्रिन दिइन्छ । यसअघि सीमानाकाबाट बिनाजाँच निर्वाध रुपमा तरकारी, फलफूल लगायत खाद्य पदार्थ भित्रिने गरेका थिए ।
नागरिकबाट
प्रकाशित: १९ असार २०७६ ०७:१४ बिहीबार