काठमाडौं उपत्यकामा बिहिबार मात्रै ३ सय १ जनामा कोरोना संक्रमण देखियो । यो अहिलेसम्मकै धेरै हो । काठमाडौं जिल्लामा मात्र २ सय ३०, ललितपुर जिल्लामा ४७ र भक्तपुर जिल्लामा २४ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्लागत तथ्यांक अनुसार पनि सबै भन्दा बढी संक्रमित काठमाडौँमा देखिन्छ । काठमाडौँमा मात्रै अहिलेसम्म ३ हजार १८५ जना संक्रमित भेटिएको छ । त्यस्तै ललितपुरमा ५१० जना र भक्तपुरमा ३२४ जना संक्रमित भेटिएको छ ।
निषेधाज्ञा थप
यता काठमाडौं उपत्यकामा भदौ ३ गते रातिदेखि सुरु भएको निषेधाज्ञा भदौ १७ गते सम्मका लागि लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञाको समय एक साता थप गरी भदौ १७ गते राति १२ गते सम्म कायम गर्ने निर्णय गरेको हो ।
बैठकपछि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञा प्रभावकारी भएको र यसलाई थप लम्बाउनुपर्ने सुझाव विभिन्न क्षेत्रबाट आएकाले दोस्रो चरणको रुपमा थप एक साताका लागि निषेधाज्ञा लम्बाइएको बताए ।

उनले निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाद्यान्न, तरकारी दुग्धजन्य वस्तुहरु खरिद विक्री गर्न विहान सवा ९ बजे सम्मका लागि समय तोकिएको बताए । सर्वपक्षिय सहमतिको आधारमा र नागरिक स्तरबाटै निषेधाज्ञाको माग भएकोले दोस्रोचरणको निषेधाज्ञा जारी गर्ने प्रक्रियामा अगाडि बढेको उहाँले स्पस्ट पारे । उपत्यका भित्रका नगरपालिकाहरु, महानगरपालिका, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेपछि निषेधाज्ञालाई दोस्रो चरण अन्तर्गत एक साता थप गरिएको उनले बताए ।
सबै पक्षको मागको आधारमा दोस्रो चरणको निषेधाज्ञा जारी भएकाले अुनगमन टोलि खटाएर आदेश पालना गराउने कामलाई थप कडाई गरिने पनि प्र.जि.अ. दाहालले बताए । अत्यावस्यक सेवा क्षेत्रमा काम गर्ने कर्मचारी बाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको पनि उनले बताए । जसमा एम्बुलेन्स, स्वस्थ्यकर्मी, खाद्यन्न ढुवानी, सरकारी सवारी साधन, सञ्चार क्षेत्र, बैंक तथा वित्तीय संस्था लगायत रहेका छन् । प्र.जि.अ. दाहालले निषेधाज्ञा जारी भएपछि उपत्यका प्रवेश गर्ने नाकामा पनि आवागमन ठप्प भएको बताए ।
नाकामा थप कडाइ
निषेधाज्ञाको समय एक साताका लागि थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेको छ । उपत्यका प्रवेश गर्ने नाकाहरुमा प्रहरीले चेकजाँचलाई थप कडाई गरेको छ ।
बुधबार दिउसो उपत्यकाका मुख्य नाकाहरु नागढुङ्गा र साँगा भन्ज्याङ नाकामा पुग्दा प्रहरीले चेकजाँचलाई कडाई गरेको पाइएको छ । नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ ।
त्यसबाहेक एम्बुलेन्स, निर्माण जन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको देखिन्छ । त्यस्तै अत्यावस्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ ।
सरकारले पनि अत्यावस्यक कामकाजका लागि आउनेहरुलाई नरोक्ने बताउँदै आएको छ । तर, जिल्ला प्रशासन कार्यालयबाट भने कुनैपनि पास वितरणको काम भएको छैन् । उपत्यका बाहिर जाने सवारी साधन भने खासै देखिएका छैनन् । यस्तै भक्तपुर तर्फको साँगा नाकामा पनि प्रहरीले कडाई गरेको छ । उपत्यका प्रवेश गर्ने सवारी साधन कम मात्रामा देखिन्छन् । यस नाकामा पनि प्रहरीले सवारी साधनमा आउने मानिसहरुको विवरण टिपेर पठाउने गरेको छ ।
समग्रमा उपत्यकाका सबै नाकामा सुरक्षाकर्मीहरुको उपस्थितिलाई बाक्लो बनाइएको छ । उपत्यका भित्र पनि अत्यावस्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका चोकचोकमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवाका सवारी साधन भने परिचयपत्रका आधारमा सञ्चालनमा आउन पाएका छन् ।





























प्रतिक्रिया