नेपालमा गत वर्षको माघ ९ गते पहिलो कोरोना संक्रमति भेटिएको थियो । त्यसपछि चैत १० गते दोस्रो संक्रमित फेला परेको थियो । त्यसपछि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चेत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । झण्डै ४ महिनापछि गत साउन ६ गते सरकारले लकडाउन अन्त्य भएको घोषणा गर्याे । त्यसबेला सरकारले कोरोना नियन्त्रणमा आएको नभई अर्थतन्त्र चलायमान बनाउन लकडाउन अन्त्य गरेको बताउँदै थप सचेतना अपनाउन आग्रह गरेको थियो ।
तर ४ महिना लामो बन्दाबन्दी खेपेका सर्वसाधारणले जनस्वास्थ्यविद् र सरकारको आग्रह हेल्चेक्राइ गरे । सरकारले पनि धमाधम एकपछि अर्काे गर्दै कार्यालय, बजार, सार्वजनिक यातायातलगायत खुल्ला गर्याे । लकडाउन लागू भएसँगै गाउँ फर्केकाहरु धमाधम सहर फर्किन थाले । त्यसपछि कोरोनाको फैलावट पनि ह्वात्तै बढ्यो ।
लकडाउन सकिएपछिको एक महिनामा निकै उच्च गतिमा कोरोना संक्रमित वृद्धि भएको तथ्यांकले देखाउछ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ ।
यही एक महिनाले विगतका सबै महिनाको भन्दा सङ्क्रमण र मृत्युदरमा नसोचेको परिणाम दिएको छ । अहिले एकैदिन ११ जनासम्मको मृत्यु भएको र एकै दिन एक हजार बढी नयाँ सङ्क्रमित भेटिएका छन् ।
प्राप्त तथ्याङ्क विश्लेषण गर्दा साउनअघि भएको कुल मुत्युभन्दा पछिल्लो एक महिनामै तीन गुणा बढीले मानिसको मृत्यु भएको छ । साउन ६ गतेसम्म कोभिड–१९ सङ्क्रमित ४२ जनाको मृत्यु भएको थियो । साउन ६ देखि भदौ ६ सम्म एक महिनाका अवधिमा मात्रै १०७ जनाले ज्यान गुमाए । शनिबारसम्म सङ्क्रमितमध्ये १४९ को मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही महिनामा सङ्क्रमण दर पनि उच्च भएको छ । अन्य महिनाको कुल सङ्क्रमितभन्दा एकै महिनामा दोब्बरले सङ्क्रमित थपिएका छन् । त्यसदिन कुल १७ हजार ९९४ सङ्क्रमित रहेकामा मन्त्रालयले एक महिनापछि सोही दिन अर्थात् भदौ ६ गते सार्वजनिक गरेको विवरणमा कुल सङ्क्रमित १३ हजार १२६ थपिएर ३१ हजार ११७ जना पुगेका छन् ।
साउन ६ कुल १५० नयाँ सङ्क्रमित भेटिएका थिए भने भदौ ६ गते नयाँ सङ्क्रमित ६३४ जना भेटिए । त्यसबेला काठमाडौँ उपत्यकामा नगण्य सङ्क्रमित रहेकामा अहिले दैनिक १५० देखि २०० को हाराहारीमा नयाँ बिरामी भेटिँदै आएका छन् । त्यसमा पनि ८० देखि ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् ।
अघिल्लो महिना साउन ६ गते सक्रिय सङ्क्रमित पाँच हजार ४७७ रहेकामा एक महिनापछि सोही दिन सक्रिय सङ्क्रमित १२ हजार ६२९ रहेको विवरणमा उल्लेख छ ।





























प्रतिक्रिया