काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना रोकथामका लागि ६ बुँदे सुझाव दिएका छन् । सोमबार बिहान मेयर शाक्यसँग भेटवार्ता गर्दै नेता थापाले ६ बुँदे सुझाव दिएका हुन् । कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता थापाले मेयर शाक्यलाई त्यसका लागि अग्रसरता लिन अाग्रह समेत गरेका छन् ।
महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायतको प्रभावकारी व्यवस्थापन गर्नसके कोरोना संक्रमणको दरलाई न्यून गर्न सकिने थापाको भनाइ छ ।
यस्ताे छ नेता थापाले दिएकाे छ बुँदे सुझाव:
कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ।पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको छ।महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ,परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ।
बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा हिजो कामनपा कार्यालयमा गएर कामनपा प्रमुख र
महानगरका स्वास्थ्य विभागका प्रतिनिधि लगायतसंग छलफल गरी देहायका कुरामा ध्यानाकर्षण गरेको छु।
१. काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस्।हामी सँगै काम गर्न चाहान्छौं। तपाईँ सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो , त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस्।
२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ। यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न।
३. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन। यी सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन।
४. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न।
५. खाद्यान्न पसल दिनको १(२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने हुन्छ। त्यसैले पसल बिहान ६ देखि राती ८ सम्म खोल्नुपर्ने,सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ।
६. कोरोना संक्रमण संग जोडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन्।नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न।
उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ।हामी सबै सहयोग गर्न तयार छौँ। सबै तह र निकायसंग समन्वय गर्नुहोस्।महानगरको संरचनालाई गतिशील बनाउनुहोस्।आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस्। नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो।





























प्रतिक्रिया