हेटौंडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् ।
आज मकवानपुरको मकवानपुरगढी गाउँ पालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लागेकाले अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औल्याए ।
गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म,संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए । राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उनले अभिभावकको भूमिकामा मात्र राजसंस्था रहने बताए। फरक विचारसहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनै पर्ने विचार ब्यक्त गरे ।
भ्रष्टाचार, धर्म परिवर्तन,सर्वसत्ताबाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताए।
कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारीले काङ्ग्रेस कम्युनिस्ट असफल भएको, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण राज्यबाटै भएको भन्दै राज्य ब्यवस्था परिवर्तन नगरी नयाँ आशा दिन नसकिने दाबी गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेहरुलाई अध्यक्ष थापाले स्वागत गरेको थियो । कार्यक्रममा रामहरी न्यौपाने ,खिल चौलागाईं ,गुरु सापकोटा, कृष्ण बिडारी, उमाकान्त गौतम, जयराम तिमल्सिना लगायतले बोलेका थिए।































प्रतिक्रिया