नेपाली काँग्रेसका सांसद् जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान र श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद् लामाले आगामी निर्वाचनमा श्रीमान र श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताएका हुन् । उनले श्रीमान र श्रीमती दुवैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गरे ।
उनले भने- ‘श्रीमान प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । किनभने श्रीमान, श्रीमती दुवै सांसद हुँदा अरु हरेक पार्टीका कार्यकताहरुले टिकट नपाउने र त्याग तपस्यालाई सधैँ समस्या परिरहने । निर्वाचन आयोगले नियमावली संशोधन गरेर अब श्रीमान र श्रीमती दुई वटै उम्मेदवार भए खारेज गर्ने नियम बनाउनुपर्छ ।’
यसअघि उनले समसामायिक विषय राख्दै नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ भनि सरकारलाई प्रश्नसमेत गरे । ‘दोलखा गौरीशंकर गाउँपालिका वडा नं. ९ मा बाढी पहिरोले क्षति पु-याएको छ । बाढीपहिरो पीडितलाई सहयोग उपलब्ध गराइयोस् । जोखिमका परिवारलाई अन्त सारेर सुरक्षित ठाउँमा सार्न म माग गर्दछु । म अहिलेको सरकारलाई पनि सोध्न चाहान्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु ।’
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीहरु धमाधम पक्राउ परिरहेको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरे । उनले मिटरब्याजीहरुको मुद्दालाई कमजोर नबनाउन सरकारसँग आग्रह गरे । मिटरब्याजीहरुलाई कारबाही गर्ने सम्बन्धमा केही कानूनी अड्चन पनि देखिएको भन्दै सो समस्या समाधानका लागि उनले सरकारको ध्यानाकर्षण गराए ।





























प्रतिक्रिया