मुख्यमन्त्री पाण्डेलाई तिमिल्सिनाकाे चुनौतीः सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस्

मुख्यमन्त्री पाण्डेलाई तिमिल्सिनाकाे चुनौतीः सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस्

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागेपनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिएका छन् । 

सोमवार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरु केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताए । 

सोही कार्यक्रममा बोल्ने क्रममा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विपरित भएको भन्दै सो विधेयक किन पारित गरेको ? भनि राष्ट्रिय सभालाई प्रश्न गरेका थिए । 

राष्ट्रियसभा आफैंले संविधानको, संघियताको बिरुद्धमा गएर विधेयकहरु पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए । उनले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी किन गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै प्रशन गरे । 

अध्यक्ष तिमिल्सिनाले दलको आदेश र ह्वीपका कारण सांसदहरुले पद खोसिने डरले पनि संघीयताको अधिकार खोस्ने विधेयकमा सहमति जनाइरहेको दाबी गरे । उनले सरकारले ल्याएका कुनैपनि विधेयकहरु फेल भएमा सरकार नरहने भन्ने चिन्ताले सबै विधेयकमा सांसदहरु पार्टीको ह्वीपका कारण सहमति जनाउन बाध्य बनेको उल्लेख गर्दै ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्र ढंगले छोड्नुपर्ने बताए । उनले हालै आएको नागरिकता विधेयकमा पनि संसदमा छलफलका क्रममा बिरोध जनाएका सांसदहरु नै पास गर्ने बेलामा संसदबाटै भागेको बताए । उनले कुनै डरबिना निःस्वार्थ बनेर काम गर्ने हो भने संघीयता र गणतन्त्र बचाउन सकिने पनि स्पष्ट पारे । 

‘हालै नागरिकता ऐन आयो, नागरिकता ऐनको बारेमा प्रतिनिधि सभा, राष्ट्रिय सभामा विभिन्न ढंगले बोल्नुभयो । बोल्ने बेलामा दरो ढंगले बोल्नुभयो, अहिलेका कुराहरु ठिक छैनन् भनेर तर भोटिङ गर्ने बेलामा टाप ठोक्नुभयो किन ? बोलेअनुसार हात उठाउन सक्नुभएन, हात उठाए बिरोधमा जाने भयो, कारबाही हुन्छ, लुसुक्क बाहिर जानुभयो । कोही त्यहीँ बसेर पनि हात उठाउनु भयो । समर्थनमा । बोल्दा बिरोधमा, हात उठाउँदा समर्थनमा । यो खालको नियति छ नि हाम्रा सांसदहरुको ।’ उनले भने, ‘संघीयताको बारेमा वकालत गर्नेहरु पनि संघीयतालाई बलियो बनाउने कुरा छोेडेर हात उठाउनु हुन्छ । यस कारणले आएको हो, माननीय मुख्यमन्त्रीज्यू, यसमा भ्रम नपरोस् । यो राष्ट्रिय सभाका माननीय सदस्यहरुको कारणले होइन, सरकारको कारणले आएको हो । त्यही सिहावले सरकारमा रहनेहरु नै त्यसबाट आफूलाई करेक्शन गर्नेतिर जानुपर्छ । वा ह्वीप नलाग्ने गरेर यस्ता कुरामा सांसदहरुलाई स्वतन्त्र ढंगले छोड्नुपर्छ । त्यो आँट गर्नुपर्छ, त्यो हिम्मत ल्याउनुपर्छ । नेताले भोलि टिकट नदेला, मन्त्री नदेला, बनेको पद खुस्काइदेला । यस्तो प्रलोभनमा हामी सबै लोभीपापी भएका छौँ । एकातिर बोल्छौँ, स्वार्थको लागि अर्को गर्छौं । जे बोल्छौँ, त्यो गर्ने बोलौँ । निःस्वार्थी बनौँ, स्वार्थी नबनौँ, गणतन्त्र, संघीयता सबै सफल हुन्छ ।’
 

Logo