बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम आयोजना ग¥यो । प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
प्रचण्डलाई अर्कै कार्यक्रममा पनि जानु थियो । त्यसैले उनले आफू पहिला बोलेर जाने भने । तर, पार्टीका उपमहासचिव एवम् जनार्दन शर्माले प्रचण्डलाई रोके।
भने ः पहिला म बोल्छु । प्रचण्डले हुन्छ भने पछि जनार्दन सम्बोधनका लागि आए र प्रचण्डकै उपस्थितिमा शर्माले घुमाउरो पाराले उपमहासचिव पद अस्वीकार गरेको जनाउ मात्र दिएनन्, उनको सार्वजनिक रूपमै आलोचना गरे । माओवादी केन्द्रमा सम्भवतः पहिलो पटक प्रचण्डकै कोर टिममा रहेको एउटा प्रभावशाली नेताले उनकै अघि सार्वजनिक रूपमै उनको आलोचना गरेको हो । शर्माले आलोचना मात्र गरेनन्, उनको बोली र शैलीमा एक खालको आक्रामकता पनि थियो ।
शर्माले महाधिवेशनदेखि नै पार्टीको महासचिवमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका थिए । आवश्यक परे निर्वाचनबाटै महासचिव छानौं भन्ने उनको धारणा थियो । महासचिवमा उनी र माओवादी केन्द्रभित्र अर्का प्रभावशाली नेता वर्षमान पुनको मुख्य दाबी थियो । पदाधिकारी चयनको विषय प्रचण्डले पन्छाउँदै लगेपछि उनीमाथि महासचिवसहित पदाधिकारी चुन्नुपर्ने दबाब पार्टीभित्र बढ्दै गयो ।
प्रमुख नेताहरूसहित प्रचण्ड निवासमा भएको एउटा बैठकमा नेता पुनले पदाधिकारी चुन्नुपर्ने र महासचिवमा आफ्नो स्वाभाविक दाबी भएको जिकिर गरेका थिए । पार्टी अध्यक्षले आफूलाई छाडेर शर्मालाई महासचिव बनाउन चाहेको भए त्यो गर्न पनि उनले सुझाएका थिए । तर पदाधिकारी चयनमा ढिलो गर्न नहुने धारणा उनले राखेका थिए । त्यही बैठकमा शर्माले पुन र आफूबाहेक अध्यक्षले अरू कसैलाई महासचिव बनाउन चाहेको भए आफूलाई त्यो मान्य नहुने भन्दै बरु आफू पाँचै भोट मात्र आए पनि चुवान लड्न तयार रहेको बताएका थिए ।
पार्टी अध्यक्ष प्रचण्डले भने भदौ ४ गते देव गुरूङलाई महासचिव बनाए । प्रचण्डले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादवलाई उपमहासचिव घोषणा गरेका थिए । पार्टीमा महासचिवको दाबी गरिरहेका शर्माले अध्यक्ष दाहालको उक्त निर्णयमा चित्त नबुझेको भन्दै फरक मत राखेका थिए । ७ जना उपमहासचिवमा उनी पाँचौं वरीयतामा छन् ।
निकट नेताहरूलाई शर्माले पार्टी उपमहासचिव पद आफूले नस्वीकारेको बताउने गरेका छन् । गुरूङ सिनियर नेता भए पनि माओवादी पार्टीभित्र उनको प्रभाव कमजोर छ । वैचारिक हिसाबले पनि गुरूङ धेरै एकांकी र जडसुत्रवादी छन् भन्दै दलभित्रै उनको आलोचना हुने गरेको छ । उनलाई विरलै कार्यकर्ताले मात्र माओवादी पार्टीको भविष्यको नेताका रूपमा हेर्छन् ।
सम्भावना भएका प्रभावशाली नेताहरूलाई पन्छाउँदै पार्टीभित्र कमजोर गुरूङलाई महासचिव बनाएर प्रचण्डले शक्ति आफूमा मात्रै केन्द्रित गरेको भन्दै नेता–कार्यकर्ताले भित्र–भित्रै उनको आलोचना गर्ने गरेका छन् । त्यसले अन्ततः पार्टीलाई कमजोर बनाउने उनीहरूको चिन्ता छ । तर पनि आजसम्म कसैले प्रचण्डको सार्वजनिक रूपमा आलोचना गरेका थिएनन् ।
बुधबारको कार्यक्रममा भने शर्माले प्रचण्डको कडा आलोचना गरे । उनले नेता र नेतृत्व सही बाटोमा नहिँडेमा आलोचना गर्नुपर्ने भन्दै आफू प्रचण्डको आलोचक र रक्षक दुबै रहेको बताए । शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरे पनि नेतृत्वको गल्तीलाई स्वीकार्न नसक्ने बताए । आफू प्रचण्डको आलोचक भएको बताउँदै उनले सम्बोधनलाई निरन्तरता दिए । आफू नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे भएको सही नीति र नेतृत्वको रक्षा गर्ने आफ्नो दायित्व भएको र त्यो कुराप्रति आफू गम्भिर भएको उनले बताए ।
तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्ने कुरा पनि आफ्नो माग रहेको उनले भने । अध्यक्षको सबभन्दा बढी कडा आलोचक आफू भएको र अध्यक्षको सबैभन्दा बढी रक्षा गर्ने पनि आफू भएको भन्दै उनी कड्किए । उनको सम्बोधनका क्रममा कार्यक्रममा तालि र हाँसो दुवै गुञ्जिए । प्रचण्ड पनि मुसुमुसु हाँसिरहे । त्यसपछि सम्बोधनका लागि प्रचण्ड आए । जवाफमा जनार्दनको रक्षा गर्ने र हुर्काउने मै हुँ भन्दै प्रचण्ड गर्जिए । जनार्दनलाई जवाफ दिइसकेपछि प्रचण्डले उत्तराधिकारीको प्रसंग उठाए । पार्टीलाई एकतामा डोे¥याउन सक्ने उत्ताराधिकारी तयार गर्ने आफ्नो योजना रहेको प्रचण्डले सुनाए ।
नेकपा माआवादी केन्द्रमा जनार्दन शर्मालाई अध्यक्ष प्रचण्डको उत्तराधिकारीको रुपमा हेरिएको थियो । धेरैले प्रचण्डले शर्मालाई पार्टिको महासिचव बनाउने आंकलन गरेका थिए । तर यस्तो अनुमान विपरित प्रचण्डले देव बहादुर गुरुङलाई महासचिव बनाएपछि प्रचण्ड र शर्माको सम्बन्ध चिसिदै गएको छ । प्रचण्डले शर्मालाई धेरैपटक भरपर्दो साथ दिएका छन् । तर पछिल्लो समय दाहालविरुद्ध शर्मा सार्वजनिक कार्यक्रममै खनिन थालेका छन् । यसबाट उनीहरुको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको सजिलै अनुमान लगाउन सकिन्छ ।































प्रतिक्रिया