प्रतिनिधिसभाको जारी कार्यकाल सकिनै शुक्रबारको बैठकबाट बाहिरिएका मन्त्री र सांसदहरुले सञ्चारकर्मीहरुसँग विभिन्न धारणा राखेका छन् ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजनीतिक नेतृत्वमा सहमति नहुँदा कतिपय विधेयकहरु अल्झिएको बताएका छन् । उनले राजनीतिक नेतृत्वमा सहमति हुननसक्दा र कानूनी जटिलताका कारण पनि कतिपय वर्तमान संसदले पास गर्नुपर्ने कानूनहरु बन्न नसकेको बताएका हुन् । उनले नेकपा एमालेले अवरुद्ध गरेको संसद खोल्ने सहमति भएसँगै संसदले गलिशिलताका साथ काम गरेको दाबी गरे ।
मन्त्री पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका काम भन्दा बाहेक पार्टीको बैठक बस्न नहुने भएपनि गठबन्धनको बैठकमा प्रधानमन्त्री नै बस्नुपर्ने भएकाले बालुवाटारमा बैठक हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने विषयलाई अस्वभाविक रुपमा लिन नहुने बताए । उनले प्रधानमन्त्री निवासमा पार्टीको आकस्मिक बाहेकका बैठक बस्ने नगरेको बताए । मन्त्री श्रेष्ठले प्रधानमन्त्री पार्टीको सभापति भएकाले पार्टीभित्रका सामान्य छलफल गर्दा अन्यथा लिन नुहने जिकिर गरे ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले प्रतिनिधि सभामा पाँच वर्षको अवधिमा भएका कमी, कमजोरीलाई अर्को संसदले सच्याउनुपर्ने बताउनु भयो । उहाँले पाँच वर्षको अवधिमा संसदबाट बनेका विधेयक बनाउने विषयमा केही कमी, कमजोरी भएको बताए । उनले धेरै राजनीतिक दलहरुको संसदमा प्रतिनिधित्व हुने भएकाले संसदमा छलफलमा वादविवाद हुनु स्वाभाविक भएको बताए ।
नेपाली काँग्रसकी सांसद सुजाता कोईरालाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाई वहुमतको सरकार आफ्नै विवादका कारण ढलेको बताइन् । उनले संसदको पाँच वर्षको अवधिमा धेरै उतारचढाव आएको बताइन् । उनले संसदमा नयाँ कुराहरु सिक्ने अवसर पनि पाएको बताइन् ।
त्यस्तै,नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पाँच वर्षको अवधिमा प्रतिनिधि सभाले मुलुकलाई समृद्ध बनाउने,सुशासन कायम गर्ने सोच पूरा गर्न नसकेको बताए । उनले प्रतिनिधि सभामा सांसद निर्वाचित भएर आउँदा राष्ट्रलाई बलियो बनाउने,जनताका हक अधिकारलाई बलियो बनाउने,देशलाई आर्थिक रुपमा समृद्ध बनाउने र विश्वसामु नेपालको प्रतिष्ठालाई उच्च बनाउने अपेक्षा र चाहना यो संसदबाट पूरा गर्न नसकेको बताए ।
नेता रावलले पाँच वर्षको अवधिमा संसद विघटन,राष्ट्र हीत विपरीतको एमसीसी सम्झौता पास गरी राष्ट्रलाई कमजोर बनाउने काम भएको बताए । उनले पाँच वर्षको अवधिमा जनताले प्रतिनिधिबाट गरेको अपेक्षा अनुरुपको काम नभएको बताए ।































प्रतिक्रिया