काठमाडौं ।
झण्डै चार महिनादेखि विवादमा फसिरहेको नेकपा विवाद अब समाधानको विन्दुमा पुगेको छ । विवाद समाधानका लागि गठन गरिएको कार्यदलले दुवै अध्यक्षहरूका अधिकारलाई स्पष्ट गर्दै मन्त्रीहरु समेत हेरफेरको प्रारम्भिक प्रस्ताव तयार पारेपछि नेकपा विवाद निकासतर्फ जान लागेको हो ।
अध्यक्ष पुष्पकमल दाहालले अबको सात दिनभित्र सबै बिषय टुंगिने दाबी गरेका छन् । विधि पद्धतिको कुरा गरिए पनि विवाद समाधान पदीय व्यवस्थापनबाटै टुंगिन लागेको हो ।
कार्यदलमा भएको प्रारम्भिक सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुबै पद प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने छैन । यसअघि पुष्पकमल दाहाल र माधव नेपाल समूहले ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने अडान लिएका थिए । ओलीले राजीनामा दिए पार्टी एकताको प्रक्रिया अवरुद्ध हुने तर्क ओली पक्षले गरेपछि त्यसमा अब दाहाल र नेपाल पक्ष पनि विश्वस्त बनेका छन् । त्यसैले अबको प्रक्रियामा ओलीको प्रधानमन्त्री र अध्यक्ष दुवै पद सुरक्षित रहदै विवाद समाधान हुने स्थिति बनेको हो ।
प्रधानमन्त्री ओलीको अध्यक्ष पद सुरक्षित रहे पनि उनले पार्टीका मुख्य काममा अध्यक्ष दाहाललाई नै जिम्मेवारी दिनु पर्नेछ । यो गत वर्ष मंसिरमा पनि सहमति भएको थियो तर ओलीले त्यो सहमतिलाई पालना नगर्दा नेकपामा विवाद चर्किएको थियो । अब अध्यक्ष दाहालको कार्यकारी भूमिकाको स्पष्ट व्याख्या हुने गरी समझदारी बन्न लागेको नेकपासम्बद्ध सुत्रले बताएको छ ।





























प्रतिक्रिया