नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनतामा अझै पनि युद्ध गरेर आएको दल शान्तिप्रतिको लगावमा छैन कि भन्ने भ्रम रहेको भन्दै सबैले यस्तो विभ्रमलाई दिमागबाट हटाउन आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले अहिले पनि नेकपा (माओवादी केन्द्र) मा मानवता,लोकतन्त्र, परिवर्तन, न्याय र समानताप्रतिको उद्देश्य उस्तै रहेको बताए । उनले शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव नभएको जिकिर गरे ।
‘युद्धमा पनि हामी यस्तै थियौँ । अहिले पनि हामी मानवता,लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ । युद्ध एउटा परिस्थितिको बाध्यता थियो । त्यो बाध्यताको उपज थियो । तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव थिएन ।’ उनले भने, ‘युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझेका हुन्छन् । मानिसलाई युद्धमा गए त्यो बढी क्रुर र अमानवीय छ कि भन्ने लाग्छ । तर यथार्थ हेर्नुभयो भने त्यस्तो छैन ।’
उनले थपे ‘अहिले पनि एउटा भ्रम छ, माओवादी अहिले पनि कतै उस्तै पो छ क्यारे भनेको जस्तो । शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयता । अहिले यसलाई टुंग्याउनको लागि लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ हामी लागिरहेका छौँ । यो विभ्रम हामी दिमागबाट अटाइदिऔँ । युद्धले शान्ति ल्याएको छ नेपालमा । माओवादी जनताको शान्तिको चाहनासँग एकाकार छ ।’
अध्यक्ष दाहालले पूर्व प्रधानमन्त्री स्व.थापाको आत्मकथाबाट धेरै कुरा सिकेर अघि बढ्न आवश्यक रहेको बताए ।





























प्रतिक्रिया